राजविराज, १९ भदौ । सप्तरीको तिलाठी कोइलाडि गाउँपालिका वडा नम्वर २ लौनियाँ टिमद्वारा सोमवार कृष्णा जन्माष्टमीको अवसरमा लौनियाँ, तिलाठी र विरपुर लगायतका ठाउँहरुमा ‘मटकीफोर’ कार्यक्रम सम्पन्न गरिएको छ ।
सिद्धिदात्री भगवती यूवा टिमद्वारा विगत ६ वर्षदेखि मटकी फोर कार्यक्रम पर्वका रुपमा मनाउदै आएका छन् । टिमका संयोजक अजय कुमार मण्डलका अध्यक्षता तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहको प्रमुख आतिथ्यमा औपचारिक रुपमा कार्यक्रम आयोजना गरिएको हो । प्रमुख अतिथि सिंहद्वारा कार्यक्रमलाई रिबन काटेर उद्घाटन गरिएको थियो ।
यस प्रकारको कार्यक्रमले हाम्रो परम्परालाई उजार गर्ने भएकोले हामी आशावादी रहेको प्रमुख अतिथि सिंहले बताए । मटकी फोर्नका लागी बन्ने पिरामीड हाम्रो शरीरका लागी स्वास्थ्यमा निकै फाइदाजनक हुने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नयाँ पुस्ताका यूवाहरु ड्रक्स, गाजा, हफिम, सुईमा अग्रसर भइरहेकोले यस्तो कुलतमा नपर्न सबैसँग आग्रह गरे । कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डल तथा सञ्चालन श्रीराम मण्डलले गरे । गाउँपालिका अध्यक्ष सिंहलाई गमछा तथा माला ओढाई सिद्धिदात्री भगवती मन्दिरका पुजारी तथा समाजसेवी हरिनारायण मण्डलले स्वागत एवम् सम्मान गरेको हाम्रा स्थानीय सम्वाददाता कमल कुमार मण्डलले जानकारी दिएका छन् ।