बृजमान तामाङ
बिरेन्द्र बजार, १२ चैत । सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले शौचालय प्रयोगले ईज्जत र सम्मान बढ्ने भएकोले यसको प्रयोग हुनुपर्नेमा जोड दिएका छन् ।
शम्भुनाथ नगरपालिकाद्वारा सप्तरीको कठौना सोमबार आयोजित खुल्ला दिशा मुक्त र पुर्ण खोप युक्त नगरपालिका घोषणा समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । चर्पी प्रयोगले स्वास्थमा समेत समस्या कम आउने हुँदा आर्थिक रुपले सबल हुँदै जाने बताउँदै प्रमुख अतिथी प्रजिअ पण्डेले आफ्नै ईज्जत, प्रतिष्ठा र स्वास्थका लागी सबैलाई चर्पी प्रयोग गर्न र नियमित खोप लगाउन अग्रह गरे । रातीको समयमा खुल्ला ठाउँमा दिशा गर्न जाँदा जघन्य अपराध पनि हुन सक्ने प्रति सचेत गराउदै सबै खाले अपराध न्यूनिकरणका निम्ती सुरक्षित क्षेत्रमा दिशा गर्नुपर्नेमा उनले जोड दिए । खुल्ला क्षेत्रमा दिशा गर्नेलाई कडा दण्ड सजाय गर्ने नियम बनाउन सुझाव दिदै प्रजिअ पाण्डेले कानून उल्लङ्घन गर्नेलाई कारबाही गर्नको लागी प्रशासनले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
शम्भुनाथ नगरपालिकाका उप प्रमुख कबिता सरदारको अध्यक्षतामा आयोजित समारोहमा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद गुरुङ, सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका उपाध्यक्ष कन्तलाल चौधरी, नेपाली कांग्रेसका नेता सबुर लाल साह, शम्भुनाथ नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष मो. याकुब राईन लगायतकाले शुभकामना ब्यक्त गरे । पत्रकार शुभनारायण यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत वडा नम्वर ८का वडा अध्यक्ष लक्ष्मीकान्त चौधरीले गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले तुल ब्यानर वाचन गरी शम्भुनाथ नगरपालिकालाई पूर्ण खोप र खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरे ।
कार्यक्रममा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजबिराजका प्रमुख रामाधार यादव, अनुसन्धानका प्रहरी उपरीक्षक देवराज लिम्बु, भिम दल गणका मेजर रमेश कुमार, जिल्ला समवन्य समिति सप्तरीका बरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्का लगायतका बिशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ठ अतिथी , अतिथीहरुलाई आयोजकले मायाको चिनो र खादा लगाएर सम्मान गरे ।