राजविराज क्याम्पसको तालाबन्दी दोस्रो दिन पनि कायमै

राजविराज क्याम्पसको तालाबन्दी दोस्रो दिन पनि कायमै
Bwtech New Add With Software & Bull SMS

राजविराज, १४ फागुन । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय विरुद्ध आन्दोलनरत संघर्ष समितिले लगाएको तालाबन्दी दोस्रो दिन सोमवार पनि जारी रहेको छ ।
गत माघ २१ गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएका नेपाल प्राध्यापक संघ महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस एकाइ संघर्ष समिति राजविराजले क्याम्पसको सम्पूर्ण कामकाज ठप्प पार्दै अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । २०१४ सालमा स्थापित क्याम्पसलाई त्रिविविकै आङ्गिक क्याम्पसको रुपमा रहने गरी सरकारी निर्णय सच्याउनुपर्ने माग उनीहरुले राखेका छन् ।
क्याम्पसलाई राजर्षि जनक विश्व विद्यालयमा गाभिए त्रिवि अन्तर्गतको आंगिक क्याम्पसका प्राध्यापक तथा विद्यार्थीमा भय सिर्जना हुने, क्याम्पसमा कार्यरत अस्थायी, करार, आंशिक शिक्षक र कर्मचारी स्वतः खारेज हुने भएकोले सो निर्णय नसच्याएसम्म अनिश्चितकालिन तालाबन्दी कार्यक्रम जारी नै रहने संघर्ष समितिका संयोजक सिंहेश्वर यादवले बताए । त्रिभुवन विश्व विद्यालय भन्दा पनि जेठो क्याम्पसलाई राजर्षिमा गाभिनु अन्यायपूर्ण कार्य भएको भन्दै उक्त निर्णय विरुद्ध आफुहरु सशक्त संघर्ष गर्ने निष्कर्षमा पुगेको सिरहा क्याम्पसका प्रा. कपिलदेव यादवले चेतावनी दिएका छन् ।
त्रिभुवन विश्व विद्यालय मातहतका क्याम्पसहरुलाई राजर्षि जनक विश्व विद्यालयको मातहतमा राखिनु सरकारको गलत निर्णय भएको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्रा. रामहिरदय मण्डलले प्रतिक्रिया दिए । राजर्षि जनक विश्व विद्यालयको विरुद्धमा आफुहरु नरहेको तर हठातमा गरिएको निर्ण गलत रहेको भन्दै राजविराजका प्राध्यापकहरुले थालेको आन्दोलनमा आफुहरुको समेत समर्थन रहेको उनले जानकारी दिए ।
केही नेताले निहित स्वार्थ सिद्धिकालागि सम्वन्धित क्याम्पसहरुसँग राय सल्लाह नै नगरी यस्तो निर्णय गरेको भन्दै यसलाई तत्काल सच्याउनुपर्नेमा महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसका प्रा. डा. हेमकुमार मिश्राले बताए । पूर्वाग्रही निर्णय नसच्याएसम्म आफुहरुको आन्दोलन जारी रहने उनले चेतावनी दिए । क्याम्पसमा थालिएको आन्दोलनप्रति विद्यार्थीहरुले समेत ऐक्यवद्धता जनाउँदै चाँडो भन्दा चाँडो निर्णय फिर्ता लिई नियमित पठन–पाठनको वातावरण बनाउन सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।
राजर्षि जनक विश्व विद्यालय ऐनको दफा २० (१) ख बमोजिम प्रदेश नम्वर २ मा त्रिवि अन्तर्गत रहेका जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पसलाई राजर्षि जनक विश्वविद्यालयमा गाभिने निर्णय गरेको थियो ।
यसै बीच सोमवार त्रि.वि. नेपाल प्राध्यापक संघ राजविराजका सभापति सिंहेश्वर प्रसाद यादव, संघ सिरहा क्याम्पसका सभापति कपिलदेव यादव, संघका जनकपुर सचिव रामहृदय मण्डल, सिरहाका सचिव कुलदिप कुमार यादव, त्रि.वि. कर्मचारी संघ राजविराजका सभापति शम्भु प्रसाद यादव र कर्मचारी संघ जनकपुरका सभापति कमलेश पाण्डेले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अविलम्व माग सम्वोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

Online Saptari
Online Saptari

About The Author