वीरगंज, २४ पुस । स्वास्थ्य चौकी प्रमुखको बिषयलाई लिएर विगत ८ दिनदेखि आन्दोलनमा रहेका पर्साका हेल्थ असिष्टेन्टहरुलाई आइतवार स्थानिय प्रहरी प्रशासनले कार्यालय प्रवेशमा रोक लगाएको छ ।
बिहान १० बजे धारणा दिन कार्यालय पुगेका आन्दोलनकारीहरुलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै कार्यालय परिसरमा आन्दोलन गर्न रोक लगाएको हो । आफनै कार्यालयमा प्रहरीले छिर्न नदिएर लोकतन्त्रको धज्जी उडाएको आन्दोलनरत हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रबिन्द्र साहले प्रतिक्रिया दिएका छन् । साहले शान्तिपुर्ण आन्दोलन पनि गर्न नदिएर स्थानिय प्रशासनले आफूहरुमाथि अनावश्यक दमन गर्न खोजेको आरोप लगाए ।
यसैगरी स्वास्थ्यकर्मी जस्ता राष्ट्रसेवक कर्मचारीहरुलाई लामो समयसम्म स्थानिय प्रशासनले आन्दोलन गर्न बाध्य बनाउनु दुर्भाग्यपुर्ण भएको आन्दोलन समितीका सदस्य शिवनारायण मण्डलले बताए । स्थानिय प्रशासन हामीहरुको मांग सम्बोधन गर्नुको सट्टा व्यापक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी आन्दोलन तुहाउनेतर्फ लागेको उनले आरोप लगाए ।
आन्दोलनमा हेल्थ असिष्टेन्ट संघ नेपालका केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, विनु श्रेष्ठ, अप्सरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्टहरुको सहभागिता रहेको छ ।