
राजविराज, २३ पुस । सप्तरीको गम्हरिया–प्रवाहाका एकै परिवारमा पाँच दृष्टिविहीन परिवारलाई सप्तरीका युवाहरुले सहयोग गरेका छन् ।
वडा नम्वर–४ निवासी शम्भु मण्डलको परिवारमा पाँच जना दृष्टिबिहीन रहेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि युवाहरुले सहयोग गरेका हुन् । सप्तरी युथ नेपालको टोलीले शनिबार गाउँमै पुगेर दृष्टिबिहीनको परिवारलाई सहयोग गरेका छन् ।
पाँच जना दृष्टिबिहीनलाई दुई थानका दरले कम्बल र नगद चार हजार रुपैयाँ दृष्टिविहिन परिवारलाई उपलब्ध गराइएको सप्तरी युथ नेपालले जनाएको छ । दृष्टिबिहीन परिवारका एक जना दुई बर्षे बालकलाई अत्यधिक ज्वरो लागेको थियो । ज्वरो लागेको बेला कुनै औषधि समेत नचलाएको अवस्थामा युवाहरुले नै चिकित्सक लगी जाँच गराएर औषधिको व्यवस्था गरिदिएका छन् ।
५० बर्षीय शम्भु, उनका भाई ४५ बर्षिय शिबनारायण, उनीहरुका बहिनी ४१ बर्षिया जयकला, शिवनारायणकी पत्नी ४० बर्षिया गीतादेवी तथा जयकलाको एक छोरा पनि दृष्टिबिहीन छन् । दृष्टिविहिन विपन्न परिवारलाई सहयोगको आवश्यकता रहेको वास्तविक यथार्थलाई आत्मसात गर्दै आफूहरुले सहयोग गरेको युथ नेपालका अध्यक्ष मोहन यादवले जानकारी दिएका छन् ।



