मुलुकमा निजी बैंकहरु खुल्ने क्रमसँगै राजधानी बाहिरका शहरहरुमा पनि तिनका शाखाहरु विस्तार हुँदैछन् । छिटो छरितो सेवा, आकर्षक ब्याजसँगै ग्राहकलाई कार्यालय समय बाहेक अरु बेला पनि नगद भुक्तानी लिन सजिलो होस् भन्नाकालागि एटीएम सुविधा समेत ती बैंकहरुले उपलब्ध गराउने गरेका छन् । राजविराजमा पनि करीब आधा दर्जन जति संख्याका बैंकहरुले एटीएम सुविधा उपलब्ध त गराएका छन् ।
तर, कहिले लामो समय विग्रेर बन्द रहने अनि कहिले चाँडै नै बन्द हुने गरेका कारणले एटीएमको भरोसामा पर्दा अत्यावश्यक समयमा भुक्तानी नपाएको भनी गुनासो गर्ने ग्राहकको पनि यहाँ कमी छैन । राजविराजमा रहेका कतिपय एटीएम सम्साँझै बन्द हुने गर्दछन् । एटीएम कतिबेला बन्द हुने हो भन्ने कुराको जानकारी नदिइएका कारणले पनि आफूहरु माथि धोका हुने गरेको ग्राहकहरुको गुनासो रहने गरेको छ । यसैगरी वरावर एटीएम विग्रेर रहने गरेका कारणले पनि समस्या हुने गरेको भनाई राख्ने ग्राहकहरु पनि भेटिन्छन् । निजी बैंकहरुले दिने सुविधाका कारणले नै ती बैंकहरुमा ग्राहकहरुको आकर्षण बढेको हो । तर, यस्तो सुविधा सुचारु राख्ने तर्फ पनि बैंकहरुको ध्यानाकर्षण आवश्यक देखिन्छ । बिग्रेको एटीएम तुरुन्त दुरुस्त गर्ने तर्फ पनि ध्यान दिनु आवश्यक देखिन्छ । यसैगरी कार्यालय समय बाहेकको अवधिमा पनि एटीएम खुला राखेर ग्राहकलाई सुविधा उपलब्ध गराउन सके मात्र ती बैंकहरु प्रति आकर्षण बढ्ने हो ।
एटीएम सेवा लिए वापत बैंकहरुले ग्राहकसित शुल्क लिने गरेका हुन्छन् । थप सुविधा उपभोग गरेको कारणले नै ग्राहकहरु एटीएम वापतको शुल्क तिर्न राजी भएका हुन् । शुल्क लिएपछि तदनुरुप सुविधा उपलब्ध गराउनु बैंकहरुको दायित्व पनि हुन जान्छ । अहिले ग्राहक आकर्षणकालागि बैंकहरुमा प्रतिष्पर्धा नै चलिरहेको छ । यस्तो प्रतिष्पर्धामा खरो तब मात्र उत्रन सकिन्छ जब सेवा स्तरीय हुन्छ । राजविराजमा रहेका बैंकहरुका कतिपय एटीएम सम्साँझै बन्द हुने गर्दछन् । यस्तो बेला ग्राहकलाई अपर्झट नगदको आवश्यकता प¥यो भने खातामा पैसा रहँदा रहँदै पनि आवश्यक्ताको समयमा निकाल्न नसकिने अवस्था उत्पन्न हुन सक्दछ । वरावर बिग्रिएरै रहने एटीएमले भरपर्दो सेवा दिन नसक्ने कुरा दोहो¥याइरहनु पर्दैन । त्यसैले यस्ता समस्याबाट ग्राहकलाई मुक्त राख्दै भरपर्दो सेवा प्रवाहतर्फ बैंकहरुको ध्यानाकर्षण जरुरी देखिन्छ ।