राजविराज, ३० साउन । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साहले वर्तमान सरकारले पनि मधेशको मागलाई बेवास्ता गरे आठौं अर्थात नयाँ संविधानको विकल्प खोज्न बाध्य हुने बताएका छन् ।
छिन्नमस्ता हालचाल नामक साप्ताहिक पत्रिकाको आइतवार विमोचन गर्दै उनले यस्तो कुरा बताएका हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तीन बँुदे सहमती कार्यान्वयन गर्नेतर्फ अग्रसरता देखाउनु सकारात्मक रहे पनि पूर्ण रुपमा विश्वास गर्ने विश्वास गर्ने अवस्था नरहेको बताउँदै नेता साहले भने ‘वर्तमान सरकारले पनि संशोधन गरेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग सम्वोधन गर्न पछाडि हटे यो संविधानलाई तिलाञ्जली दिएर आठौं संविधानको विकल्प खोज्न बाध्य हुनेछौं ।’
संयुक्त लोकतान्त्रिक मोर्चाको माग पुरा नभएसम्म सरकारमा नजाने प्रतिवद्धता व्यक्त गर्दै उनले आफूहरुकालागि मधेशको माग सम्वोधन हुन नै ठूलो उपलब्धि हुने बताए । मधेशको माग पुरा हुन नदिनकालागि केही तत्व सक्रिय रहेको भन्दै नेता साहले भने ‘शोषित, उत्पीडित एवम् विभेदमा पारिएका जनताको अधिकारलाई संस्थागत गर्ने कार्यको बाधक हुने जनविरोधीलाई जनताले कदापि माफ गर्ने छैन ।’ मधेशी जनताले नेपालभित्रै अधिकार खोजिरहेकोमा केही शासक प्रवृतिका नेताहरुले नानाथरिक प्रोपोगण्डा फैलाईरहेको बताउँदै उनले भने ‘मधेश विरोधीहरुले नै मधेश र मधेशीलाई विखण्डनतर्फ धकेलिरहेको छ ।’
पत्रिकाका प्रकाशक शिवप्रताप साहको अध्यक्षतामा आयोजित पत्रिका विमोचन समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण कुमार देव, सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, कृष्णा दैनिकका दिनेश शर्मा, द पब्लिक ब्लाष्ट साप्ताहिकका सम्पादक रामअधिन साह, राससका प्रतिनीधि अरुणकुमार यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा छिन्नमस्ता हालचाल साप्ताहिककी सम्पादक पार्वती सिंह (प्रिया)ले स्वागत मन्तव्य तथा सञ्चालन समाचार प्रमुख रविन्द्र साहले गरे । पत्रिकाको सह–सम्पादकमा नविन चौधरी रहेका छन् ।