न्यूज टुडे
राजविराज,०८ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरीले आफ्ना सदस्यहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न ध्यानाकर्षण गराएको छ । महासंघद्वारा शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाका लागि आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पालना गर्न संचारकर्मीहरुलाई आग्रह गरेको हो ।
महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवद्वारा जारी प्रेस विज्ञप्तिमा आचारसंहिता उलंघनको घटनाले सम्पूर्ण पत्रकारको साखमा आँच आउने भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन सचेत गराएको छ ।
“पत्रकारबाट हुने यस्तो क्रियाकलापले आचारसंहिताको उल्लंघन गर्नुका साथै स्वतन्त्र, निष्पक्ष पत्रकारितामा पनि प्रश्न चिन्ह खडा गर्नेछ, अध्यक्ष देवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,’ यस्तो क्रियाकलापले नेपाल पत्रकार महासंघको संगै समग्र पत्रकारिताकै गरिमा घटाउने छ ।’
निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितासंगै पत्रकार आचारसंहिता पालना गर्नु हामी सबैको दायित्व भएको भन्दै विज्ञप्तिमा भनिएको छ, आचारसंहिता विपरीत समाचार सम्प्रेषण गर्ने, सामाजिक संजालमा उम्मेदवार लक्षित टिप्पणीहरुमा उम्मेदवारको तर्फबाट खण्डन गर्ने जस्ता क्रियाकलापमा संलग्न नहुँन ध्यानाकर्षण गराइएको छ ।
यस्ता गतिविधिमा संलग्न भइ हुने कुनै पनि घटनाको जिम्मेवारी स्वयं आफैले लिनुपर्ने बताइएको विज्ञप्तिमा पत्रकारिता त्यागेर राजनीतिक दल तथा उम्मेदवारको खुल्ला प्रचार गर्नुपर्नेमा जोड दिएका छन् ।