• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हर्क साम्पाङले गरे गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण

हर्क साम्पाङले गरे गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण
न्यूज टुडे
राजविराज,१३ फागुन । 
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मधेसवादका प्रणेता गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका छन् । महोत्तरीको बर्दिवास जाने क्रममा राजविराज स्थित गजेन्द्र चौकमा रहेको मधेसवादका प्रणेता सिंहको शालिकमा अध्यक्ष साम्पाङले बुधबार माल्यार्पण गरेका हुन् । 
अध्यक्ष साम्पाङले उच्च सम्मानका साथ सिंहको शालिकमा माल्यार्पण गरे । सिंहको शालिक भएको स्थलमा जानू अघि नै जुत्ता बाहिर खोलेर प्रवेश गरेका अध्यक्ष साम्पाङले आफ्ना समर्थकहरुलाई समेत जुत्ता चप्पल खोलेर मात्र आउन निर्देशन दिए । 
गजेन्द्र चौकलाई मन्दिर र गजेन्द्रनारायण सिंहलाई भगवानको सम्मान दिएपछि अध्यक्ष साम्पाङको यस्तो  संस्कारको चर्चा भएको छ ।  साम्पाङले मधेसबादका प्रवर्तक सिंह प्रति गरिएको उच्च सम्मानको सर्वत्र प्रशंसा समेत भएको छ । 
साम्पङले झण्डै १५ मिनेट गजेन्द्रनारायण सिंहको सम्मानमा समय खर्च गर्दा उनका समर्थक तथा शुभचिन्तकहरुले हर्क साम्पाङ र श्रम संस्कृति पार्टीको पक्षमा नाराबाजी समेत गरेका थिए । 
यस अघि रास्वापा वरिष्ठ नेता बालेन्द्र साह ( बालेन) ले गजेन्द्रनारायण सिंहको शालिकमा सडकबाटै माला फालेर गएपछि मधेस र मधेसीको घोर अपमान गरेको भन्दै आलोचना भएको थियो । बालेनले गजेन्द्रनारायण सिंहमाथि गरेको व्यवहार अहंकार र राजनीतिक अपरिपक्वता संज्ञा दिदै विभिन्न राजनीति दल तथा बौद्धिक क्षेत्रबाट टिप्पणी गरेका थिए । 
साम्पाङ र बालेन यी दुबै पात्र महाननगर र उपमहान नगरपालिकाको मेयर पदबाट राजिनामा दिएर राजनीतिक क्षेत्रमा सक्रिय चर्चित व्यक्ति हुन् ।
मंगलबार नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले माल्यार्पण गरेका थिए।  यस अघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, जन अधिकार पार्टीका अध्यक्ष डा. शरद सिंह यादव लगायतका राष्ट्रिय स्तरका नयाँ तथा पुरानो पार्टीका नेतृत्वले गजेन्द्रनारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।