• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार सेवा राम्रो नभएको भन्दै हुने गरेको गुनासो मत्थर हुन त परै जाओस् बरु उल्टै बढ्न थालेको छ । 
अनेक प्रकारका समस्याले अस्पताल आफैं ग्रसित रहेका कारण विरामीको उपचारमा त्यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । पछिल्लो चरणमा चार दिन अघि अस्पतालमा एक सुत्केरीको मृत्यु भएका कारण अस्पताल परिसर तनावग्रस्त बन्न पुग्यो । चिकित्सककै लापरवाहीले गर्दा ती सुत्केरीको मृत्यु भएको आरोपका साथ आफन्तजन आन्दोलनमै उत्रँदा अवस्था तनाब बढेको हो । उपचारकालागि आएका विरामी मध्ये रेफर गरी बाहिर पठाइनेको संख्या ठूलो रहेका कारण कतिपयले यसलाई रेफर सेण्टर समेत भन्ने गरेका छन् । यहाँका समस्या पटक पटक समाचारमा आउने गरेकै विषय रहेका कारण नौलो होईन । उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरेर पनि आएका मध्ये अधिकांश विरामीको उपचार गर्न नसकिने पनि होईन । तर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ड पनि दरवन्दी अनुसारको नरहेको र निमित्तकै भरमा लामो समयदेखि अस्पताल प्रशासन चलाउनु परिरहेको छ । आएका मेडिकल सुपरिटेण्डेण्टलाई पनि टिक्न नदिने अनि एकै जनाले पटक पटक निमित्तका रुपमा अस्पताल प्रशासन चलाउने गरेका कारणले पनि सेवामा सुधार आउन नसकेको त्यहाँ कार्यरत कर्मचारीकै भनाई सुनिने गरेको छ । प्रशासन चुस्त रहँदा मात्रै सेवामा पनि सुधार आउन सक्ने कुरा निर्विवाद नै छ । तर राजनीतिक खिचातानी, गुटबन्दी तथा अन्य विभिन्न समस्याका कारण अस्पतालको सेवामा सुधार आउन सकिरहेको छैन ।
देशकै पुराना मध्येको एक यस अस्पतालको अवस्था सुधारकालागि चुनावी मुद्दामा मात्रै यस विषयलाई सिमित राख्नु भन्दा पनि कार्यान्वयनका रुपमा प्रस्तुत गरिनु पर्ने आवश्यकता छ ।