• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजाजी दिहबारथान मन्दिर निर्माण सहयोगार्थ आयोजित पुरुषोत्तम महायज्ञ सम्पन्न

राजाजी दिहबारथान मन्दिर निर्माण सहयोगार्थ आयोजित पुरुषोत्तम महायज्ञ सम्पन्न
उत्तम आचार्य
कञ्चनरुप, १५ जेठ । 
सप्तरीको कञ्चनरुप नगरपालिकामा धार्मिक आस्था, भक्तिभाव र सामाजिक सद्भावको वातावरण सिर्जना गर्दै राजाजी दिहबारथान मन्दिर निर्माण सहयोगार्थ आयोजित आठदिने “पुरुषोत्तम महात्म्य धार्मिक ज्ञान महायज्ञ” शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।  महायज्ञ व्यवस्थापन समितिका अध्यक्ष रामनारायण साहको अध्यक्षता तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका वीच महायज्ञ समापन गरिएको हो । 
कार्यक्रममा बोल्दै नगर प्रमुख  गुप्ताले धार्मिक अनुष्ठानहरूले समाजमा नैतिकता, अनुशासन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले मन्दिर निर्माण कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष रामसुन्दर यादवले पूर्वीय दर्शन, धार्मिक संस्कार र सामाजिक एकताले समाजलाई अनुशासित र सभ्य बनाउन मद्दत पुग्ने बताए। उनले महायज्ञ ऐतिहासिक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै आयोजक, स्वयंसेवक तथा सम्पूर्ण श्रद्धालुहरूलाई धन्यवाद ज्ञापन गरे।
समाजसेवी भुवनेश्वर यादव र प्रकाश दाहालले धार्मिक कार्यक्रमहरूले समाजलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गर्दै यस्ता आध्यात्मिक गतिविधिले सामाजिक सद्भाव र आपसी भाइचाराको भावना अझ मजबुत हुने धारणा राखे।
आयोजक समितिका सक्रिय सदस्य वकिल साहका अनुसार महायज्ञलाई सभ्य, भव्य र व्यवस्थित बनाउन स्थानीय बासिन्दा, युवाहरू, महिला समूह तथा विभिन्न संघसंस्थाबाट उल्लेखनीय सहयोग प्राप्त भएको थियो।
महायज्ञकी प्रमुख वाचिका प्रख्यात कथावाचिका प्रशंसा देवी उपाध्याय रहेकी थिइन् । उनले आठ दिनसम्म दैनिक रूपमा धार्मिक कथा, प्रवचन तथा संगीतबद्ध भजनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गरेकी थिइन्। उनको प्रवचन सुन्न दैनिक ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहने गरेको आयोजकले जनाएको छ।
महायज्ञ अवधिभर विशेष पूजा–आराधना, हवन, भजन–कीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुति सञ्चालन गरिएको थियो। साथै लाखबत्ती बालेर विशेष आराधना गरिएको र विभिन्न प्रतिष्ठित साधुसन्तहरूको सहभागितामा धार्मिक ज्ञान, संस्कार तथा आध्यात्मिक चेतनासम्बन्धी प्रवचनहरू समेत दिइएको थियो।
आयोजक समितिका अनुसार महायज्ञबाट भक्तजन तथा सहयोगदाताहरूबाट कुल ६ लाख १० हजार रुपैयाँ सहयोग संकलन भएको छ भने कार्यक्रम सञ्चालनमा करिब ५ लाख २५ हजार रुपैयाँ खर्च भएको जनाएको छ। संकलित रकम मन्दिर निर्माण तथा धार्मिक गतिविधिको प्रवर्द्धनमा उपयोग गरिने बताइएको छ।
स्थानीयवासीहरूले यस प्रकारका धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा शान्ति, सहिष्णुता, धार्मिक चेतना र आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। महायज्ञको सफल आयोजनासँगै कञ्चनरुप क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधिप्रति थप उत्साह देखिएको छ।
राजाजी दिहबारथान मन्दिर परिसरमा आयोजित महायज्ञ जेठ ८ गतेदेखि सुरु भई जेठ १५  गते सम्पन्न महायज्ञ अवधिभर स्थानीयवासी, श्रद्धालु भक्तजन तथा विभिन्न क्षेत्रका धर्मप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।