• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको स्मरण स्वरुप शुक्रबार गणतन्त्र दिवस २०८३ मनाईएको छ । नेपाली जनताको लामो संघर्ष,ऐतिहासिक जनआन्दोलन,मधेश आन्दोलन तथा अनेकौं शहीदको बलिदानीबाट आएको परिणामका रुपमा गणतन्त्रलाई लिने गरिएको छ ।

मुलुकमा संबिधानसभाबाट निर्मित संबिधानले गणतन्त्रको ग्यारेण्टी गरेको छ । संबिधानतः यो परिवर्तनको सुनिश्चितता गरिएको भए पनि यसलाई संस्थागत गर्नकालागि अझै धेरै काम हुनु पर्ने भने बाँकी नै छ । परिवर्तनले चरम गरिबीमा पिल्सिरहेका,अवसरबाट बञ्चित तुल्याईएका तथा थिचोमिचोमा परेकाहरुलाई उकास्न सक्नु पर्ने पहिलो आवश्यकता हो । मुलुक आर्थिक पछौटेपनमा परेको र परनिर्र्भरताबाट मुक्त हुन नसकिरहेको वर्तमान अवस्थामा परिवर्तन ल्याएर विपन्न तथा विगतदेखि नै विभेदको शिकार बन्दै आएकाहरुलाई कसरी उकास्न सकिन्छ भन्ने कुरालाई प्रमुख रुपले चिन्तनको विषय बनाउनु पर्ने यति बेलाको आवश्यकता हो । गणतन्त्रले सत्ता र शक्तिको दुरुपयोगलाई निषेध गरेका कारण यसलाई कमजोर तुल्याउने प्रयास कहिँ कतैबाट पनि नहोस् र मुलुकको विविधता तथा गौरवशाली परम्परा,सांस्कृतिक विविधता,राष्ट्रिय उपलब्धि र प्रगतिलाई उजागर गर्ने अवसरका रुपमा गणतन्त्रको प्रयोग भएमा यसको सार्थकता पनि अझै उजागर हुनेछ ।

मुलुक आर्थिक सबलीकरणको दिशामा अग्रसर बनोस् र परनिर्भरता हट्दै जाओस् भन्ने आम नेपाली जनताको चाहनालाई साकार तुल्याउनकालागि अठोट गर्ने अवसर पनि हो गणतन्त्र दिवस । परिवर्तन आएदेखि हालसम्मका उपलब्धिका बारेमा समीक्षा गर्दै बाँकी कामको अठोटका साथ अघि बढ्नु पर्ने आवश्यकतालाई व्यवहारतः सिध्द गर्न सकिएमा यसको सार्थकता पनि मुखरित हुँदै जानेमा आशंका रहने छैन ।