राजविराज, १४ साउन । सप्तरीको भारतीय सीमावर्ती गाविस तिलाठी स्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर भएको विहीवार राती दोहोरो झडपमा परी नेपाली पक्षका एक दर्जन सर्वसाधारण घाइते भएका छन् ।
भारतीय प्रशासनले जबर्जस्ती बाँध बनाउने क्रममा जारी राखेपछि भारत र नेपाल पक्षका बासिन्दा बीच दोहोरो झडपले उग्र रुप लिएको हो । भारतीय पक्षबाट ढुङ्गा, लाठी, फट्ठा आदिले प्रहार गर्दा जिल्ला विकास समिति सप्तरीका पूर्व सदस्य समेत रहेका तिलाठी–४ का ५२ वर्षिय देवनारायण यादव, तिलाठी–१ का १६ वर्षिय हर्षवद्र्धन कर्ण, बेल्ही–८ का सुशील यादव, तिलाठी–७ का रोशन झा, दुर्गानन्द झा, सञ्जीव झा लगायतका व्यक्तिहरु घाइते भएका छन् । घाइतेहरुमध्ये देवनारायण, हर्षवद्र्धन कर्णलगायतको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेको स्थानीय क्लिनिकहरुमा उपचार भइरहेको छ । दोहोरो झडपले उग्र रुप लिएपछि दुबैतर्फ व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
दशगजा क्षेत्रमा बाँध निर्माण हुन थालेपछि सिमावर्ती क्षेत्रका आधा दर्जन गाविस डुबानमा पर्ने खतरा बढेकोले आफूहरुले निर्माण कार्य तत्काल रोक्नुपर्ने अडान नेपाली पक्षले राखेका छन् । गत शनिबार खाँडो नदीमा आएको बाढीमा तिलाठी, सकरपुरा, लौनिया, रम्पुरा मल्हनियालगायतका गाविसहरु डुबानका परेको थियो ।
अत्यधिक पानी थुनिएपछि बाँध भत्किएको थियो । बिहीबार विहानदेखि नेपाल र भारत पक्षका वासिन्दाहरु बीच तनाव उत्पन्न हुँदैआएको छ । आज विहानैदेखि दुबै पक्षका वासिन्दाहरु पुनः लाठी, फट्ठालगायत घरेलु हतियार बोकेर दशगजामा उभिएका छन् । दुबै पक्षका सुरक्षा अधिकारीहरुको संयमता र सतर्कताका कारण अप्रिय घटनाबाट जोगिएको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बाँध तत्काल निर्माण नगर्नकालागि भारतीय उच्च पदाधिकारीहरुसँग कुरा भईसको तथा भारतीय र नेपाल दवै पक्षका सुरक्षा अधिकारी लगायत जिम्मेवार पदाधिकारीहरु बीच द्वि–पक्षीय छलफलको तयारी भईरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिएका छन् ।