न्यूज टुडे
राजविराज, २७ असोज।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजारमा सोमबार स्कारपिओ चोरी गर्ने क्रममा दुईजना पक्राउ परेका छन्। स्थानीय विनय भगतको स १ च ७१३ नम्बरको स्कारापिओ चोरी गर्ने क्रममा सिराहा विष्णुपुर नगरपालिका ४ का कामेश्वर यादवको छोरा वर्ष २५ को अमन यादव र उनको भाई वर्ष २३ का सुमन यादव रंगेहात पक्राउ परेका हुन्।
मध्यरात मोटरसाइकल चढेर आएका उनीहरुले स्कारपिओको झ्याल फुटाएर ताला तोड्दै गर्दा थाहा पाएपछि स्थानीय समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
‘स्कारपिओको व्याट्री डाउन थियो । नजीकै राखेको पिकअपको ब्रानट फुटाएर व्याट्री खोलेर स्कारपिओमा लगाएर स्टार्ट गर्न खोजेछ’ गाडी धनी भगतले भने, म पनि काठमाण्डौमा छु, मलाई पनि फोनबाट नै जानकारी भयो । स्कारपिओको झ्यालको सिसा फुटाएर चावी पनि फुटाएको भन्ने जानकारी पाएको छु।’
स्थानीय योगेन्द्र यादवको छोरा रजनीश यादव विहान ३ बजे ट्रक लिएर पूर्व तर्फ जानेक्रममा देखेपछि शंका लागेर हेर्न जाँदा उनीहरू पक्राउ पारेको भागतले जानकारी दिए । उनले स्कारपिओ र पिकअप दुवैमा ठूलो क्षति पुगेको बताउँदै चोरीमा संलग्नहरुलाई कडा कारबाही तथा क्षतिपूर्ती भराउनु पर्ने माग गरे ।
इलाका प्रहरी कार्यालय रूपनीका इन्चार्ज प्रहरी नायव निरिक्षक तुलसी यादवले पक्राउ परेका यादव दाजुभाइले प्रयोग गरेको बा ९० प ६८७९ नम्बर र म-प्र -०२-००७ प ५००४ नम्बरको दुईवटा मोटर साइकल समेत फेला परेको बताए।
पक्राउ पारेको दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराज पठाएको तथा घटना बारे थप अनुसन्धन भई रहेको उनले जानकारी दिए ।