• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बोदेबरसाईन महोत्सवको नाममा विकृति फैलाएको आरोप 

बोदेबरसाईन महोत्सवको नाममा विकृति फैलाएको आरोप 
रामानाथ यादव 
राजविराज,२७ असोज।
सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित बरसाइनमा महोत्सवको नाममा आयोजकले विकृति फैलाएको आरोप लगाइएको छ । नेपाल पत्रकार महासंघ सप्तरीमा सोमबार पत्रकार सम्मेलन गर्दै जेनजीका प्रतिनिधि र स्थानीय युवाहरूले यस्ताे आरोप लगाएको हो । 
जिल्ला प्रशासन कार्यालयले  महोत्सव बन्द गर्न निर्देशन गरे पनि मेला सञ्चालन गरिएको भन्दै  स्थानीय जेनजी पुस्ता तथा युवाहरूले कडा आपत्ति जनाएका छन् ।उनीहरूले महोत्सवको नाममा अश्लील गीत, नृत्य र प्रदर्शन भइरहेकोले समाजमा विकृति फैलाउने गतिविधिमा तत्काल रोक लगाउन माग गरे ।  
उनीहरूले यस्ता गतिविधिले सामाजिक वातावरणलाई बिगार्ने र समाजमा विकृति फैलाउने कार्य भइरहेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै स्थानीय युवा सुरेन्द्र प्रसाद साहले महोत्सवका नाममा गरिएका अश्लील प्रदर्शनले नगरमा विकृति फैलाएको भन्दै अविलम्व रोक्नुपर्ने माग गरे ।
“व्यापारिक रूपमा कुनै लाभ नभएका यस्ता महोत्सव केही सीमित व्यक्तिहरूको स्वार्थका लागि मात्रै सञ्चालन भइरहेका छन्’ उनले भने’यदि यस्ता महोत्सव बन्द नगरिए, हामी चरणबद्ध आन्दोलनमा उत्रनेछौं ।”
स्थानीय युवा ओम प्रकाश यादवले  महोत्सवले  स्थानीय  कृषि उत्पादन, कला, संस्कृति, धर्म र परम्परालाई झल्काउने भन्दा निरुत्साहित गरेको भन्दै आक्रोश पोखे। 
उनले मेलामा स्थानीय  प्रस्तुति तथा स्थानीय कलाकार र व्यापारीको सहभागिता नगराई  बाहिरबाट ल्याएर उत्तेजित पार्ने गरी अश्लील दृश्यले विकृति फैलाउने कार्य गरिएकाले तत्कालै रोक्नु पर्ने बताए। 
‘यसअघि असोज १२ देखि २७ गतेसम्मका लागि दुर्गा पूजा मेला सञ्चालनको अनुमति दिइएको थियो’ उनले भने,’तर, अनुमति विपरीत महोत्सवमा अश्लील प्रदर्शन र अशोभनीय गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालयले असोज २४ गतेदेखि मेला बन्द गर्न निर्देशन जारी  गर्यो।  त्यसलाई अटेरी गरेर नगरपालिकाबाट पुन: २७ गतेदेखि ०८ गतेसम्मको अनुमति लिएर बोदे बरसाइन महोत्सवको नाममा यस्तो गतिबिधि गरेका छन्।’
मेला बन्द गर्ने निर्णयपछि पनि आयोजकहरूले महोत्सवलाई निरन्तरता दिई दुर्गा पूजाको नाम परिवर्तन गरी “श्री बोदेबरसाइन महोत्सव” महोत्सवको नाममा सञ्चालन गरेको युवाहरुले जानकारी दिए । 
जेनजीका अगुवा पुष्पेन्द्र साहका अनुसार, जसपाका नेतृ बब्बी सिंह यादवले सयौं जनतालाई प्रलोभन देखाई प्रशासनबाट अनुमति लिन प्रयास गरे पनि अनुमति नपाई असोज २५ गतेदेखि पुनः मेला सञ्चालन गरेको बताए।
पत्रकार सम्मेलनमा युवा अगुवा राजकिशोर यादव, राजु यादव, बैधनाथ यादवलगायतका जेनजी पुस्ताका प्रतिनिधि तथा  स्थानीय युवाहरुको उपस्थिती थियो।