• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका अनेक बेथिति र त्यसबाट सिर्जित समस्याका कारण जकडिएको अवस्था छ ।
गाउँपालिकामा देखिएका विभिन्न विवादले गर्दा कर्मचारी तथा शिक्षकहरुले दशैंमा समेत तलव खान पाएनन् । जनप्रतिनिधिहरुले बेथितिको सुधार, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, समस्याको समाधानमा चासो नराखेको भन्दै गाउँपालिकामा त्यस विरुद्ध गठित संघर्ष समितिले उनीहरुको राजीनामा नै माग्न थालेका छन् । पछिल्लो चरणमा तलव, भत्ताको माग गर्दै गाउँपालिकाका शिक्षक र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । चौविस घण्टाभित्र तलव भत्ता नदिए तालाबन्दी र धर्नामा बस्ने चेतावनी सहितको ज्ञापनपत्र आईतबार बुझाईएको छ । दशैंमा समेत तलव खुवाउन नसक्दा पनि गाउँपालिका नेतृत्व तहले गम्भीरताका साथ त्यसलाई नलिनु आफैमा पनि गैरजिम्मेवारपूर्ण नै मान्नु पर्ने हुन्छ । शिक्षक तथा कर्मचारीलाई कसरी भोकभोकै खटाउने भन्ने तर्फ मानवीयताको दृष्टिकोणबाट पनि सोच्न आवश्यक थियो तर त्यसबारे चासो नलिंदा समस्या झनै गम्भीर बनेको हो भनेर बुझ्न सकिन्छ । गाउँपालिकामाथि कामको ठूलो जिम्मेवारी छ । यो जिम्मेवारी सफलताका साथ सम्पन्न गर्नका लागि पहिला गाउँपालिका विवादमुक्त भई कामको उचित वातावरण तयार गर्ने तर्फ लाग्नु आवश्यक रहन्छ । विवाद र समस्यालाई समाधान नगरी जति लम्ब्याईन्छ, त्यसले झनै जटील परिस्थिति उत्पन्न हुन सक्दछ भने कुरालाई नेतृत्व तहले बुझ्नु पर्ने पहिलो आवश्यकता हो ।
अतः समस्याको चाङ थुपारेर बस्ने भन्दा पनि त्यसको यथाशिघ्र निकासतर्फ अग्रसरता लिनुको विकल्प देखिन्न ।