• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जानकी नवमीमा सार्वजनिक विदाको माग

राजविराज,३ जेठ । जानकी नवमीको अवसरमा सार्वजनिक विदा र मैथिली भाषाको समुचित स्थानको माग गर्दै सप्तरीमा आइतवार झाँकीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
मैथिल महिला परिषद्ले विगतका वर्षहरु झैं यो वर्ष पनि राजा जनक र जानकी (सीता)को झाँकी तथा ‘आदर्श नारी सीता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । स्थानीय पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालय प्राङ्गणबाट निकालिएको झाँकी नगरको विभिन्न भाग परिक्रमा गर्दै मैथिली साहित्य परिषद्को मैथिली भवनमा पुगेर टुङ्गिएको थियो ।
मैथिली भवनमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरु आदर्श नारी जानकीको जन्मदिन अर्थात मैथिली दिवसका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिनु पर्ने तथा मैथिली भाषाको स्थान सुनिश्चित हुनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि प्रा. अशोक कुमार झाले राज्यले मैथिली भाषालाई उपेक्षा गरेको भन्दै मैथिली दिवसका अवसरमा विदा दिईए सम्पूर्ण मैथिलीभाषीको सम्मान हुने बताए ।2
मैथिल महासंघ नेपालका अध्यक्ष विष्णकुमार मण्डलले मैथिली भाषा, साहित्य एवम् संस्कृतिको संरक्षण सम्वद्र्धनको लागि राज्यपक्षले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । मैथिली साहित्य परिषदका पूर्व अध्यक्ष विवेकानन्द मिश्रले नेपालको दोस्रो भाषा मैथिलीलाई राज्यले उपेक्षा गरेको भन्दै भाषिक, साँस्कृतिक एवम् साहित्यिक अभियानलाई गाउँ–गाउँमा जागरणको रुपमा लग्नुपर्नेमा जोड दिए ।
मैथिल महिला परिषद्की पूर्व अध्यक्ष शोभिता दासले आदर्श नारी सीताको चरित्र विश्वकै महिलाहरुकालागि उदारहरणीय एवम् अनुकरणीय रहेको भन्दै नेपाल सरकारले मैथिली दिवसमा विदा दिए सम्पूर्ण महिलाहरुको सम्मान हुने बताए । जानकी नवमीलाई विशेष पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिँदै मैथिली भाषाको विकासकालागि सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
महिला परिषद्की अध्यक्ष सबिता दासको अध्यक्षतामा आयोजित कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, साहित्य परिषद्का अध्यक्ष शुभचन्द्र झा, सचिव श्यामसुन्दर यादव, युवा नेता एवम् मैथिलीकर्मी पार्थो सरकार, वद्धिजिवी रामकुमार यादव, विन्देश्वर साह, भुवनेश्वर यादव, नारायण देव, बिमला देवलगायतले जानकीको व्यक्तित्वबारे विचार व्यक्त गरे । कार्यक्रममा परिषद्की कोषाध्यक्ष कञ्चन झा, केशव दास, सरोज सन्त लगायतले गीत प्रस्तुत गरे भने कवि सत्येन्द्रनाथ चौधरीले कविता वाचन गरे । 3
मैथिलीकर्मी बन्दना मिश्रद्वारा सञ्चालित सोही कार्यक्रममा महिला परिषद्की पूर्व अध्यक्ष सोभिता दासलाई मैथिली क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । यस अघि शिव ईन्टरनेशलन बोर्डिङ्ग सेकेण्ड्री स्कूल, पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयका छात्र–छात्राहरु झाँकीमा सहभागी भएका थिए ।