विराटनगर, १५ चैत्र । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन गरेर मधेसका मुद्दा समावेश नगरेसम्म संविधान कार्यान्वयन हुन नदिने बताएका छन् ।
सोमवारदेखि विराटनगरमा सुरु भएको सद्भावना पार्टीको दुई दिने विस्तारित बैठकको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । अध्यक्ष महतोले मधेशका मुद्दा पाखा लगाएर संविधान कार्यान्वयन हुनै नसक्ने दावी समेत गरे ।
संविधानमा मधेशका मुद्दा समावेश गर्नकै लागि आन्दोलन स्थगित गरेर चैतसम्मको समय दिएको बताउँदै उनले माग पूरा नभए वैशाखबाट नयाँ योजनासहित पुनः आन्दोलन गर्ने बताए । चैत १८ गतेदेखि बस्ने मधेसी मोर्चाको बैठकले आन्दोलनको स्वरुप कस्तो हुने भन्ने निर्धारण गर्ने महतोले जानकारी दिए ।
मधेश आन्दोलनकै कारण अन्तर्राष्ट्रिय जगतले मधेशका मुद्दा थाहा पाएको भन्दै उनले मधेस आन्दोलन उपलब्धिमूलक भएको उनले दावी गरे । विस्तारित बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलन, पार्टीको भावी कार्ययोजना, पार्टीको राष्ट्रिय महाधिवेशन, राष्ट्रिय कार्यसमिति पुनर्गठन, जनजागरण पदयात्रालगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।