• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

मसँग लगेको रकम र लाने नेताहरूका नाम यस्तो छः राज्यलक्ष्मी गोल्छा

मसँग लगेको रकम र लाने नेताहरूका नाम यस्तो छः राज्यलक्ष्मी गोल्छा
व्यापारिक घराना गोल्छा परिवारकी बुहारी राज्यलक्ष्मी गोल्छा एमालेबाट समानुपातिक कोटामा सभासद् नियुक्त भएकी थिइन् । प्रधानमन्त्री निर्वाचनमा अनुपस्थित भएको भन्दै एमालेले उनलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ । तर, गोल्छा आफू राजीनामा नदिने बताउँछिन् । भन्छिन्,‘म बिरामी भएर अनुपस्थित भएकी हुँ ।’ आफ्ना पति स्वर्गीय महेन्द्रकुमार गोल्छाले एमालेमा गरेका आर्थिक–सामाजिक लगानीका कारण आफू सांसद चुनिएको उनको दाबी छ । कुराकानीका क्रममा उनले एमालेका विभिन्न तहका नेतालाई आर्थिक सहयोग गरेको दाबीसमेत गरिन् । प्रस्तुत छ, दीपेन्द्र विष्टले उनीसँग गरेको कुराकानीको सारांश :

तपाई व्यापारीक परिवारको व्यक्ति कसरी अचानक राजनीतिमा आउनुभयो ?
मेरो बुवाको घर (चेन्नई, भारत) मा करुणा निधि, एमजीआर, हबिंश दाइे, अमिताभ बच्चन आउने जाने गर्थे । सानोदेखि नै मेरो ‘गु्रमिङ’ यस्तै राजनीति र फिल्म क्षेत्रका व्यक्तिसँग भयो । एकदम ‘हाइकल्चरको शिक्षा’ पाएँ। बुवाआमाको नाम उच्च राखौं भनेर राजनीति एउटा क्लिनक्षेत्र भनेर प्रवेश गरें । बुवा पनि दक्षिण भारत तामिलनाडुको गर्भनर जस्तो पदमा दुई पटक बसेको मान्छे । साथै कला शिक्षा राजनीतिमा उहाँ उच्च योगदान थियो । उहाँ फिल्म उद्योगी पनि हो । बुवाको यो इमेज मेरो मनमा गहिरो गरी बसेको थियो । त्यो नै मेरा लागि राजनीतिमा आउने मुख्य प्रेरणा थियो ।

तपाईंलाई एमालेले आफ्नो कोटामा किन सभासद बनायो ?
तपाईको पार्टीमा योगदान के थियो ? महेन्द्रकुमार गोल्छाको सुमन प्याकुरेल, सुवोध प्याकुरेलसँग एकदमै राम्रो सम्बन्ध थियो, जब मदन भण्डारीले ‘श्रम कानुन’ लागू गर्ने भन्ने कुरा उठ्यो, त्यो बेला महेन्द्रकुमार उद्योग संगठन मोरङको अध्यक्ष हुनहुन्थ्यो । श्रम कानुन लागू गर्ने विषयमा महेन्द्रकुमारको ठूलो योगदान छ । त्यसले गर्दा म एमालेमा प्रवेश गरेकी हुँ । किनकी महेन्द्रको नामलाईम निरन्तरता दिन चाहन्थे । भरतमोहनजी अर्थमन्त्री हुँदा महेन्द्रजीलेश्रम कानुन लागू गर्न र अर्थनीति बनाउनमा योगदान गरे । त्यसैले मेरो झुकाव बढी एमालेप्रति थियो ।

पार्टीले तपाईंलाई सांसदबाट किन हटाउन खोजेको रहेछ ?
म सुरुदेखि भन्छु । केपी सर र माधव नेपाल सरले कहिल्यै केही माग राख्नु भएन । महेन्द्र गोल्छाकै योगदानका कारण उहाँहरुले मलाई पार्टीमा ल्याउनुभयो । सभासद बनाउनुभयो । तर पार्टीमा झलनाथजी र पार्टीका अन्य व्यक्तिले सिधै पैसाको कुरा गरे । त्यो कुरामा मलाई चित बुझेन । किनभने पार्टीमा केपी र माधव नेपाल जस्तो व्यक्ति पनि हुनुहुँदो रहेछ । उहाँहरुको म सम्मान गर्छु जसले कहिल्यै पैसाको कुरा गर्नुभएन । पार्टीको आन्तरिक राजनीतिको कारण पनि मलाई हटाउन खोजेको हुनुपर्छ ।

प्रधानमन्त्रीको चुनाव सहभागी हुन भएन, उल्टै पार्टीको नीति विपरीत मधेसको मुद्दालाई सहयोग गर्नुभयो भन्ने आरोप तपाईंलाई छ नि ?
पार्टीको आन्तरिक विवादका कारण यस्तो आरोप लगाइएको हो । मैले पार्टी हितविपरीत कुनै काम गरेकी छैन । मेरो स्वास्थ्य स्थितिको कारणले उपस्थित नभएको हुँ । विगत १० महिनादेखि मेरो स्वास्थ्य ठीक छैन, म विरामी छु ।मुटु र खुट्टाको समस्या छ । यो सबैलाई थाहा छ । पटकपटक प्रमुख सचेतकलाई जानकारी गराएकी छु ।संविधान घोषणाको बेला वेड रेष्टमा थिएँ, यो कुरा विद्या भण्डारीजीलाई थाहा छ । उहाँले विराटनगर मेरै घरमा आएर मलाई भेट्नु भएको हो । यस्तो स्थितिमा पनि म अन्तिम दिन हस्ताक्षर गरेर विराटनगर फर्के । प्रधानमन्त्री चुनावको दिन नेपाल एयरलाइन्सको टिकट बुक गरेको थिएँ, एयरपोर्टमा अचानक मेरोमा स्वास्थ्य खराब भयो, मलाई त्यहींबाट हस्पिटल लगियो । डाक्टरले रेष्ट गर्नु भने तर मैले केपीओली प्रधानमन्त्रीको उम्मेदवार भएकाले म जसरी पनि जानुपर्छ भनें ।तर,जान सकिनँ । दोस्रो दिन उपचारको लागि बागडोगरा (भारत) गएँ । सभामुख निर्वाचनको दिन उपस्थित भएँ ।

विद्या भण्डारीले तपाईसँग के भन्नुभयो ?

तपाईको स्वास्थ्य बिग्रेको छ । स्वास्थ्यभन्दा अरु केही हुन सक्दैन । आफ्नो र बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोस भन्नुभयो । त्यसपछि म उहाँकै सम्पर्कमा थिएँ । आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थिएँ । उहाँको निर्देशन मानेकी थिएँ । तर पार्टीभित्र केही व्यक्तिले मलाई मानसिकरुपमा थ्रेट दिएर काठमाडौं आउन दिएनन् र धम्क्याए पनि । त्यो पार्टीका अधिकांश नेतालाई थाहा छ । धम्क्याउने को थिए ? केही युवा संघ सम्बद्ध व्यक्तिहरु हुन् । मलाई काठमाडौं प्रवेश गरेपछि ज्यान जोखिममा हुने भन्दै धम्की दिए । यो कुरा मैले केपी सर, माधव नेपालसँग गरेकी छैन।

पार्टीमा मेरो आर्थिक लगानी पनि ठूलो छ भन्दै हुनुहुन्छ । कति जति छ ?
मैले पार्टीलाई १ करोड ६५ लाख रुपैयाँ स्वेच्छाले सहयोग गरेकी छु । जम्मा गरी मैले सात करोड रुपैयाँ बुझाएकी छु । त्यसैगरी, संविधान सभामा निर्वाचनमा मैले पार्टीलाई शारीरिकश्रम तथा ठूलो आर्थिक सहयोग गरेकी छु । म एक मधेसी महिला, एकल महिला, उद्यमी महिला हटाएर पार्टीले कुनै ठूलो काम गरेजस्तो लाग्दैन । यसले पार्टीको बद्नाम गरिसकेको छ । मलाई पार्टीले आन्तरिकरुपमै हल खोजेको भए हन्थ्यो भन्ने जस्तो लाग्थ्यो । संचारमाध्यमसँग बोल्न बाध्य बनायो ।

तपाईले आफूलाई अंगिकृत नागरिकता भएकाले हटाउन खोजेको भन्ने आरोप लगाउन भयो नि?

मेलै सम्पूर्ण कुरा त्यागेर महेन्द्र गोल्छासँग बिवाह गरेकी हुँ । महेन्द्रले पार्टीमा गरेको योगदानबारे मेरै किताबमा सुबोध प्याकुरेलले खुलेरै लेखेका छन् । मलाई पार्टीले किन हटाउन खोज्दैछ म जवाफ माग्न चाहन्छु । यो लडाईं लडेर मात्रै म पार्टीबाट बाहिरिन्छु ।

सभासद बनाउन पैसाको कुरा गर्ने को थिए ?
झलनाथ खनालले सिंधै पाँच करोड सहयोग नगरे सभासद बनाउन नसक्ने कुरा गरे । त्यो बेला गंगाधर तुलाधरसँगै थिए । अनि, गोविन्द थापालेपनि १ करोड रुपैयाँ भन्दा बढी लगेका छन् । अरु कुरा सार्वजनिक गरेपार्टीमा ठूलो घाटा हुने भएकाले आवश्यक परे सार्वजनिक गरौंला । मसँग सबै प्रमाण छ । अहिले म सार्वजनिक गर्न चाहन्नँ । युवा संगठनका भूपाल राई, परशुराम बस्नेत र निरु पाललगायतले ६२ लाख रुपैयाँ लगेका छन् । बकाइदा लिखित रुपमा दिएका छौं । विनोद ढकाललाई २५ लाख रुपैयाँ, राजविराजका सुमन प्याकुरेल र उनकी छोरी सुज प्याकुरेल, उनकै छोरा सुयसको घरमा केपी सर गएकै बेला विनोद ढकालहरुले बार्गेनिङ गरेर ५० लाख रुपैयाँ, ऋषि पोखरेलले १० लाख रुपैयाँ लगे । त्यो क्षेत्रका केपी ओली सर्मथकलाई ५ लाख रुपैयाँ भन्दा मैले कम सहयोग गरेकी छैन । केपी ओली प्यानलका गोविन्द थापा, सुमन प्याकुरेल, गोविन्द ढकालहरुले महिलाको व्यवसायिकीकरण गर्ने काम गरे ।

गोल्छा परिवारको बुहारीको यस्तो स्थिति छ भने अरुको के होला ? अरुले तपाईसँग कति पैसा मागे ?
झलनाथ खनाललाई एकजना राईथरका भाईमार्फत आर्थिक बाहेक उनको निर्वाचन क्षेत्रमा इलाम जानआउन कति सहयोग गरे भन्ने लेखाजोखा नै छैन । उनले महेश रेग्मीकै अगाडि फोनमार्फत व्यक्तिगत २ करोड रुपैयाँ सहयोग गर्नुपर्ने धम्की दिए । ईश्वर पोखरेललाई सहयोग गरें । गोकर्ण विष्टलाई १० लाख रुपैयाँ भन्दा बढी । त्यसैगरी, विद्या दिदीलाई २५ लाख रुपैया दिएँ । उहाँलाई मैले आफ्नै नाममा चेक काटेर दिएकी छु । उहाँकै नाममा काट्न खोजेकी थिएँ, मान्नु भएन । गंगाधर तुलाधरमार्फत माधव नेपाललाई १० लाख रुपैयाँ सहयोग गरें । पार्टीको माथिल्लोस्तरका सबै नेतालाई सबैलाई सहयोग गरेकीछु ।

तपाईंले गरेको आर्थिक सहयोगको बारेमा माधव नेपाल के भन्नुहुन्छ ?

मसँग पैसा पुगेको छैन भन्नुहुन्छ । मलाई थाहा छैन भन्नु हुन्छ ।

साभारः कान्तिपुर