आश्विनशुक्ल चतुर्थी तिथिमा शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगायत सारा प्राणीको सिर्जना शक्ति भएको मानिन्छ । देवीको वदनवर्ण वैजनी रहेको तथा उनी सिंहमा चढेकी छिन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाकालागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजा–आजा गर्ने चलन छ । जीवन चिसोतातो वा तापको सन्तुलन वा समशीतोष्ण घडीमा सम्भव हुने पनि कुष्माण्डा स्वरुपको अर्थबोध हुन्छ ।
बडा दशैंको अवसरमा सप्तरीको सखडेश्वरी शक्तिपीठ, कंकालिनी भगवति, राजदेवी, योगिनीमाइ लगायतका देवी मन्दिरहरुमा पूजा–आजा भइरहेको छ । यसैगरी सिरहाको बालासुन्दरी, राजदेवी, जनकपुरको राजदेवी, बाराको गढीमाई, पर्साको गहवामाई, काठमाण्डौको दक्षिणकाली, गुहेश्वरी, धरानको दन्तकाली लगायतका देवी मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुले पूजा–आजा गरिरहेको जनाइएको छ ।
आज बडा दशैंको चौथोे दिन शुक्रवार देशैभरी घरघरमा तथा देवी मन्दिरहरुमा माता कुष्माण्डा देवीको पूजा–आजा गरिंदैछ ।