न्यूज टुडे
राजविराज, २७ जेठ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहको सक्रिय र परिणाममुखी नेतृत्वले वन प्रशासनप्रति जनविश्वास बढाएको छ । रौतहट जिल्लामा वन संरक्षण तथा व्यवस्थापनको क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएको सकारात्मक परिवर्तनले वन प्रशासनप्रति जनविश्वास बढाएको हो।
यस परिवर्तनको प्रमुख आधारका रूपमा डिभिजन वन अधिकृत साहको सक्रिय र परिणाममुखी नेतृत्वलाई लिइएको छ।
वन क्षेत्रलाई अवैध कटानी, काठ तस्करी, वन पैदावार चोरी निकासी तथा अतिक्रमणबाट जोगाउने अभियानलाई उनले प्राथमिकताका साथ अघि बढाएका छन्। जिम्मेवारी सम्हालेपछि वन संरक्षणलाई प्रभावकारी बनाउन उनले कार्यालयको कार्यशैलीमा सुधार ल्याउनुका साथै कर्मचारीहरूलाई उत्तरदायी र जनमुखी सेवा प्रवाहमा केन्द्रित गरेका छन्।
वन अधिकृत साहको कार्यशैलीको विशेषता भनेको फिल्डमा आधारित नेतृत्व हो। उनी नियमित रूपमा वन क्षेत्रको अनुगमन तथा निरीक्षणमा सहभागी हुँदै वास्तविक अवस्था बुझ्ने र तत्काल समाधान खोज्ने प्रयासमा सक्रिय रहने गरेका छन्। यसले वन कर्मचारीहरूमा समेत जिम्मेवारीबोध बढाएको सरोकारवालाहरूको भनाइ छ।
वन अतिक्रमण नियन्त्रणमा उनले विशेष पहल गरेका छन्। वन क्षेत्र अतिक्रमण गरी प्रयोग गरिएका स्थानहरूको पहिचान गरी कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने अभियान सञ्चालन गरिएको छ। यसबाट अतिक्रमित क्षेत्र पुनः वनको स्वरूपमा फर्किन थालेका छन् भने हरियाली विस्तारमा समेत सकारात्मक प्रभाव परेको छ।
वन संरक्षणसँगै वृक्षारोपण तथा वन पुनर्स्थापनालाई पनि प्राथमिकता दिइएको छ। विभिन्न स्थानमा बिरुवा रोप्ने, प्राकृतिक रूपमा उम्रिएका बिरुवाको संरक्षण गर्ने तथा वन क्षेत्रको नियमित रेखदेख गर्ने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएका छन्। यसले वातावरणीय सन्तुलन कायम राख्न तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याएको छ।
स्थानीय समुदायको सहभागिताबिना वन संरक्षण सम्भव नहुने मान्यताअनुसार साहले सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक समाजसँग सहकार्यलाई मजबुत बनाएका छन्। यसले वन संरक्षण अभियानलाई समुदायस्तरसम्म विस्तार गर्न मद्दत पुगेको छ।
वन पैदावार चोरी निकासी तथा तस्करी नियन्त्रणमा समेत उल्लेखनीय सफलता हासिल भएको वन कार्यालयको दाबी छ। नियमित गस्ती, निगरानी तथा कानुनी कारबाहीका कारण अवैध गतिविधिमा कमी आएको स्थानीय बताउछन् ।
स्थानीयवासीहरू वन अधिकृत साहको निष्पक्ष, इमानदार तथा कानुनसम्मत कार्यशैलीको प्रशंसा गर्छन्। गरुडा नगरपालिका निवासी अन्होती गुप्ताले वन संरक्षणप्रति उनको प्रतिबद्धता र सक्रियताले वन क्षेत्रमा प्रत्यक्ष सकारात्मक प्रभाव देखिएको बताए ।
सरोकारवालाहरूका अनुसार राजनीतिक वा अन्य कुनै दबाबभन्दा माथि उठेर वन क्षेत्रको हितलाई केन्द्रमा राखी काम गर्ने साहको नेतृत्वले वन संरक्षण अभियानलाई थप प्रभावकारी बनाएको छ। प्राकृतिक सम्पदा, वातावरणीय सन्तुलन तथा भावी पुस्ताको भविष्यसँग जोडिएको वन क्षेत्रको संरक्षणमा उनले देखाएको सक्रियता र समर्पण रौतहटका लागि उदाहरणीय बनेको स्थानीयवासीहरूको भनाइ छ ।