• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज नगरबासीको आन्दोलन उग्र बन्दै : चर्को नारावाजीसहित मसाल जुलुस प्रदर्शन 

राजविराज नगरबासीको आन्दोलन उग्र बन्दै : चर्को नारावाजीसहित मसाल जुलुस प्रदर्शन 
न्यूज टुडे
राजविराज, २७ जेठ ।
लालपुर्जा माग गर्दै नगरपालिकाको कार्यलयमा तालाबन्दी गरी रिले अनशनसहित संघर्षरत  राजविराज नगरबासीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलन उग्र बन्दै गएको छ ।  प्रहरीले नगरपालिकामा लगाइएको ताल्चा फुटाएरर  रिले अनशनमा बसेका नगरबासीमाथि अन्धाधुन्ध लाठीचार्ज गरि हटाएपछि आन्दोलनले उग्ररुप धारण गरेको हो । 
प्रहरी दमन विरुद्ध मंगलबार अर्धनग्न विरोध प्रदर्शन गरेका आक्रोशित नगरबासीले बुधबार मसाल जुलुस प्रदर्शन गरेका छन् । 
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनरत नगरपालिकाबासीहरुले प्रहरी र कार्यबाहक नगरप्रमुख तथा जनप्रतिनिधि विरुद्ध चर्को नाराबाजी गर्दै मसाल जुलुस प्रदर्शन गरे । 
‘प्रहरी दमन बन्द गर, इसरत परविन राजिनामा दे, सुभास यादव मुर्दावाद विटौरी जग्गाको लालपुर्जा दे, हाम्रो माग पुरा गर’ लगायतका चर्को नारा लगाउदै मसाल जुलुस प्रदर्शन गरेका छन् । 
लालपुर्जा माग गर्दै विभिन्न स्वरुपको आन्दोलनलाई निरन्तरता दिदै आएका नगरपालिकाबासीको आन्दोलन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीको बाक्लो उपस्थितिमा नगरपालिका कार्यालयमा लगाइएको ताल्चा फुटाइएको थियो । 
मसाल जुलुसमा सहभागी नगरबासीहरुले प्रहरी दमनको कडा शब्दमा विरोध गरेका छन् । प्रहरीले आन्दोलनलाई हस्तक्षेप गरेको विरुद्ध बजार बन्द घोषणा गर्दै बक्ताहरुले लालपुर्जा पाउने सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । 
 उनीहरुले राजविराज शहरको स्थापना कालदेखि नेपाल सरकारबाट प्रदान गरिएको विटौरी जग्गामा बसोबास गर्दै आएको राजविराजबासीहरुले निशर्त लालपुर्जा पाउनु पर्ने माग सारेका छन् । 
बक्ताहरुले हकभोगको आधारमा जग्गको स्वमित्व पाउनु पर्ने माग सार्दै संघर्ष समितिले महीना दिन देखि धर्ना लगायतका विभिन्न दवाव मुलक संघर्षका कार्यक्रमलाई दबाउने  प्रयास भए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
 उनीहरुले विटौरी जग्गाको राजस्व राजविराज नगरपालिकामा बुझाउँदा समेत लालपुर्जा वितरणमा बेवास्ता गरेको भन्दै आक्रोश पोखे ।  उनीहरुले  जेठ २९ गतेदेखि अनिश्चितकालीन बजार बन्दसहित नापी कार्यालयसहितमा समेत तालाबन्दी गरी आन्दोलनलाई  थप सशक्त बनाउन बताइसकेका छन् ।
१९९८ सालदेखि  बसोबास गर्दै आएको नगरबासीलाई पटकपटक आश्वासन दिएपनि हालसम्म लालपुर्जा वितरण नगरेको नगरबासीको  गुनासो छ।  हकभोगको आधारमा जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने एक सूत्रीय माग राखी ३ सातादेखि विभिन्न स्वरुपको चरणबद्व दवावमुलक कार्यक्रम गर्दै आएपनि नगरपालिकाले गरेको दवाउने प्रयास सफल हुन नदिने  आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताए । 
नगरपालिकाले विटौरी कर लिदै आएपनि लालपुर्जा वितरणमा चासो नदिएको स्थानीयको आरोप छ । २०२८ सालमा राजविराज शहरको ६० विघा जग्गालाई नापी शाखाले गाउँ ब्लक दावी गर्दै श्रेस्ता कायम गरिएकोले त्यसलाई आधार मान्ने हो भनेपनि जग्गाको लालपुर्जा पाउनुपर्ने आन्दोलनकारीहरुको भनाइ छ ।
नगरपालिकामा कर बुझाएर बैंकमा जग्गा धितो राखी कारोबार हुँदै आएकोमा पछिल्लो समय  विटौरी जगाको लालपुर्जा उपलब्ध गराउने भनी सरकारले बैंकलाई देशव्यापी पत्राचार  गरेपछि बैंकले धितो बन्धक राख्न रोक लगाएको थियो । 
आन्दोलनरत नगरबासीको आन्दोलनलाई सप्तरी उधोग बाणिज्य संघलगायतका दर्जनौं संघसंस्था तथा राजनीतिक दलहरुले  प्रेस विज्ञप्ति  जारी गर्दै एक्यवद्धता जनाएको छ । पाँच हजारभन्दा बढी परिवारले हकभोग गर्दै आएको विटौरी जग्गाको लालपुर्जा उपलब्ध गराउन नागरिक स्तरबाट समेत दवाव बढेको छ । 
राजविराज नगरपालिका अन्तर्गत १० विघे ब्लक जग्गाको भने यसअघि नापी शाखाको सिफारिसमा मालपोत कार्यालयबाट जग्गाधनी पूर्जा वितरण गरेको छ । 
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक जग्गा खाली गर्न देशव्यापी उर्दी जारी गरेपछि राजविराजबासी थप सशंकित भएका छन् ।