• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बिटौरी जग्गाको लालपूर्जा माग्दै आन्दोनमा सहभागि रहेकाहरुमाथि राजविराजमा मंगलबार दमन भएको छ । शान्तिपूर्ण रुपले नगरपालिकामा धर्ना बसेकाहरुमाथि प्रहरीले हस्तक्षेप गरी भएको लाठीचार्जबाट केही आन्दोलनकारी घाईते समेत भएका छन् ।

असार मसान्तका समयमा आन्दोलनकारीहरुले नगरपालिकामा तालाबन्दी गरेका कारण विभिन्न कामको भुक्तानी लगायतका आवश्यक कामकाज प्रभावित रहेका कारण नगरपालिकामा प्रहरीको सहायताबाट ताला खोलाउनु परेको भन्ने तर्क अघि सारिएको छ । जहाँसम्म असार मसान्त नजिकको समयमा भुक्तानीको सबाल छ यो समस्या राजविराज नगरपालिकामा बिगतमा पनि नभएको होईन । गत वर्ष पनि यस्तै समस्या पैदा भएको थियो जबकी त्यति बेला बिटौरी जग्गावालाहरुले राजविराज नगरपालिकामा तालाबन्दी गरेका थिएनन् । नगरपालिकामा भुक्तानी लिनकालागि कमिशन दिनु पर्ने र कमिशन नदिनेलाई भुक्तानीमा पनि झुलाएर राख्ने गरेको भनि त्यति बेला पनि आरोप लागेकै हो । यस पटकको आन्दोलनमा नगरपालिकाले पनि माग पूरा गराउन सहयोग गर्ने प्रतिबध्दता जनाएको थियो । तर कहिले नगरपालिकाले नापी कार्यालय तथा कहिले नापीले नगरपालिकालाई देखाउँदै पन्छिन थालेपछि बिटौरी जग्गावालाहरुको लालपूर्जा पाउनु पर्ने माग पूरा हुन सकिरहेको थिएन । नगरको स्थापनाकालदेखि बसोबास गर्दै आएका बिटौरी जग्गावालाहरुको माग जायज रहेको भन्न पनि नछुटाउने अनि त्यसकालागि सहयोग पनि नगर्ने हो भने यस्तो दोहोरो चरित्र प्रति कसरी विश्वास गर्ने ?माग पूरा हुने आश्वासनका वीच जसरी मंगलबार धर्नामा बसेकाहरुमाथि दमन भएको छ,यसले जनप्रतिनिधिको संस्थामाथि पनि विश्वासको संकट उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

आन्दोलनकारीहरुले नगरपालिकाका मेयर तथा कतिपय वडाध्यक्षका बिरुध्द पनि नारावाजी गरेका छन् । जनप्रतिनिधिले जनतामाथि परेको समस्याप्रति साथ दिन सके मात्र जनसेवी मान्ने आधार पनि तयार हुनेछ ।