• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिटौरी जग्गाको समस्या समाधानकालागि माग राखेर राजविराज वासीहरु यति बेला आन्दोलित भएका छन् । उनीहरुले जग्गाको लालपूर्जा माग्दै आन्दोलन सुरु गरेका हुन् ।
विगतदेखि नै आन्दोलन गरे पनि वीच वीचमा समस्या समाधानकालागि सम्बन्धित निकायले प्रतिबद्धता र आश्वासन दिँदै आएका कारण आन्दोलन स्थगित हुँदै आएको पनि थियो । तर लामो समयसम्म प्रतीक्षा गर्दा पनि समस्याको समाधान तर्फ काम नभएका कारण यस पटक पीडितहरु अनसनमै बस्न बाध्य भएका छन् । माग पूराकालागि राजविराज नगरपालिका तथा नापी कार्यालयले अग्रसरता लिनु पर्ने भनाईका साथ पीडितहरुले यस बारे अन्य सरोकारवाला निकायको समेत ध्यानाकर्षण गराएकै हुन् । यस विषयमा नापी र नगरपालिकाले एकापसमा पत्राचार गर्ने गरेता पनि काम चाहिँ निष्कर्षमा नपुग्नाले त्यो आफूहरुलाई अल्झाएर राख्ने प्रपञ्च मात्र साबित भएको आन्दोलनकारीहरुको आरोप छ । जग्गाको लालपूर्जा नरहेका कारण बिटौरी तिरेर भोगचलन गर्दै आएको जग्गामा ऋण लिन समेत अप्ठ्यारो परिरहेको तथा अन्य काममा समेत बाधा उत्पन्न भईरहेका कारण आफूहरुले सुरुदेखि नै भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनु पर्ने उनीहरुको माग रहेको छ । यस मागका बारेमा अधिकांश राजनीतिक दलले समेत समर्थन गरिसकेका कारण समस्यालाई लम्ब्याई राख्नु उचित होईन । 
दिएको आश्वासन तथा गरेको प्रतिबध्दतालाई कार्यान्वयन गर्नकालागि पनि बिटौरी जग्गावालाहरुको माग प्रति विशेष चासो लिनु पर्ने आवश्यकता छ । झुठा आश्वासनका भरमा जनतालाई अलमल्याउने होईन उनीहरुको समस्या शिघ्रातिशिघ्र पूरा गर्ने तर्फ पहलको आवश्यकता छ ।