सप्तरी क्रिकेट संघको आयोजनामा राजबिराजमा सञ्चालित मधेश प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सप्तरीले जित हाँसिल गरेको छ। राजबिराजस्थित पविमावि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा सर्लाहीलाई ९ विकेटले पराजित गर्दै सप्तरीले जित हाँसिल गरेको हो।
‘प्लेयर अफ दि म्याच’ को उपाधि ग्रहण गर्दै सुस्मिता यादव । फोटो : न्यूज टुडे
वर्षाका कारण ढिलो सुरु भएको खेललाई १० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै मात्र ३३ रनको सामान्य योगफल तयार गरेको थियो।
सर्लाहीका लागि समृद्धि भुजेलले सर्वाधिक १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सप्तरीका बलरहरूको कसिलो प्रदर्शनका कारण सर्लाही सुरुदेखि नै दबाबमा देखिएको थियो।
बलिङतर्फ सप्तरीकी सुस्मिता यादवले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा मात्र २ रन खर्चेर महत्वपूर्ण ३ विकेट हात पारिन्। यस्तै साक्षी यादवले २ विकेट लिँदा अपेक्षा यादव र बन्दना रजकले समान १/१ विकेट ३४ रनको सामान्य लक्ष्य पछ्याएको सप्तरीले १ विकेटको क्षतिमा सहज जित हात पार्यो।
टोलीका लागि जेनिसा मगरले अविजित ११ रन तथा साक्षी यादवले अविजित ९ रनको योगदान दिँदा जित सहज बनेको थियो। सुस्मिता यादवले पनि ८ रन जोडिन्।
उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेकी सुस्मिता यादव खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भएकी सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंहले जानकारी दिए।