• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सञ्चार माध्यम कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त

सञ्चार माध्यम कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त
न्यूज टुडे
राजविराज, १३ जेठ ।
वर्तमान अवस्थामा सञ्चार माध्यम कमजोर बन्दै गएको सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले चिन्ता व्यक्त गरेका छन्।
प्रेस सेन्टर नेपाल सप्तरीद्वारा आयोजित महान सहिद तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २४ औं स्मृति दिवसको अवसरमा वर्तमान अवस्थामा संचारमाध्यमको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
प्रेस सेन्टरको जिल्ला अध्यक्ष विन्दु कुमार यादवको अध्यक्षता तथा वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालको पूर्व सदस्य अनिल कुमार अनलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी अनलले सञ्चार संस्थाको आम्दानीको प्रमुख स्रोत विज्ञापन रहेको तर पछिल्लो समय सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र केन्द्रित हुँदा साना लगानीका मिडिया आर्थिक संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका थिए । धेरै पत्रकारले आर्थिक अभावका कारण पेशा परिवर्तन गर्न थालेको बताउदै उनले पत्रकारितामा निकै असर पुगेको बताए।
 नेपाल पत्रकार महासंघ शाखा सप्तरीको पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले  लोकतन्त्रको महत्वपूर्ण आधार मानिने सञ्चार क्षेत्र आज आर्थिक, व्यावसायिक तथा नीतिगत समस्याका कारण संकटमा परेको बताए । जुन सरकार आएपनि पत्रकार प्रति निरङकस रहदै आएको बताउदै उनले विगतमा सप्तरीकै संचारमन्त्री बनेका जय प्रकाश गुप्ताले पत्रकारलाई दमन गर्ने काम गरेको बताए । 
आम संचार प्राधिकरण मधेश प्रदेशका निवर्तमान अध्यक्ष श्याम सुन्दर यादवले संचार माध्यमको अवस्था दयनीय रहेको बताउदै उनले देशभर सञ्चालनमा रहेका पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरू संकटमा परेको बताए । राज्यको विभेदले विशेषगरी मोफसलका सञ्चारमाध्यमको अवस्था झन् कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यस तर्फ राज्य पक्षले ध्यान दिनुपर्नेमा जोड दिए । 
 नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष नविन कुमार गुप्ताले राज्य पक्षले नै पत्रकार माथि पक्राउ पुर्जी जारी गर्ने ,देशका नामी पत्रकार किशोर श्रेष्ठ माथि दमन गर्ने घटनाले प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको प्रति चिन्ता व्यक्त गरे । सञ्चार क्षेत्रलाई संरक्षण गर्नु राज्यको दायित्व रहेको तर पत्रकार प्रति सरकारको धारणा नै गलत रहेको बताउदै उनले सबै सञ्चारमाध्यमलाई समान अवसर दिने नीति ल्याउन जरुरी रहेको बताए। 
प्रेस युनियन सप्तरीको जिल्ला उपाध्यक्ष समेत रहेका गुप्ताले पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 
नेकपाको केन्द्रिय सदस्य तथा पूर्व सांसद सूर्यनाथ यादवले राज्यपक्षले कृष्णसेन ईच्छुकलाई जेलमा नै हत्या गरेको तर हालमा आएर त्यही व्यक्ति वर्तमान सरकारको सांसद बन्न पुगेकोमा चिन्ता व्यक्त गरेक ।  उनले कृष्णसेनलाई हत्या गर्ने दोषी माथि कडा भन्दा कडा कार्वाही गर्नुपर्नेमा जोड दिए
कार्यक्रममा वरिष्ठ पत्रकार सुरेन्द्र गुप्ता, पत्रकार सतिश कुमार दत्त,नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य प्रताप नारायण चौधरी,नेताहरु, विनोद कुमार यादव, छेदी रजक,हरी नारायण महतो लगायतकाले सञ्चारमाध्यममा आएको समस्या समाधान गर्न राज्य पक्षले ध्यान दिनु पर्नेमा जोड दिए । कार्यक्रम संचालन पत्रकार दिनानाथ यादवले गरेका थिए ।