राजविराज नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजार भन्दा बढी परिवारलाई यति बेला आफूले भोगचलन गर्दै आएको जमीनको स्वामीत्वकालागि संघर्ष गर्नु परिरहेको छ । त्यस क्रममा प्रमुख आवश्यकताको विषय बनेको छ जग्गाको लालपूर्जा ।
हो,जग्गाको स्वामीत्वकालागि जग्गा धनी प्रमाण पूर्जा(लालपूर्जा) चाहिन्छ नै । पहिले बिटौरी तिरेर जग्गा भोगचलन गर्दै आएको र त्यस्तो जमीन धितो राखेर बैंकिंग कारोवार पनि चलिरहेका कारण खासै समस्या थिएन । तर जब बैंकले धितोको रुपमा स्वीकार गर्नकालागि जग्गाको लालपूर्जा नै चाहिने अनिवार्य गर्यो अनि बिटौरी जग्गावालाहरुकालागि समस्या खडा भयो र उनीहरु लालपूर्जा पाउनकालागि प्रयत्नशील हुन थाले । जनतामाथि लालपूर्जावालहरुकालागि काम गर्न सहज भए पनि आफूहरुले सुरुदेखि नै भोगचलन गर्दै आएको जग्गा लालपूर्जा नभएकै कारणले खोटो सिक्का सरह भएको ठान्दै उनीहरुले यस बारे सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण मात्र गराएनन्,कैयौं चोटी आन्दोलन समेत गरे । तर वार्ता र आश्वासनका माध्यमले आन्दोलन रोकियो तर माग भने पूरा भएन र फेरि आन्दोलनमै उत्रनु परेको हो । यस बारे राजनीतिक दलका नेतादेखि जनप्रतिनिधि समेतले आफ्नो समर्थन मात्र जनाएका होईनन्,माग पूरा गराउनकालागि प्रयाश गर्ने प्रतिबध्दता समेत जनाए पनि काम चाहिँ अहिलेसम्म हुन सकेको छैन ।
निर्वाचनमा कतिपय उम्मेदवारले बिटौरी जग्गावालाहरुको समस्या समाधान गर्ने भनि घोषणापत्रमै उल्लेख पनि गरेका हुन् । तर पनि समस्याको समाधान ननिस्केका कारण आन्दोलनमै उत्रिरहनु परेका कारण यस समस्याको दीगो समाधान तर्फ ईमानदारिताका साथ पहलको आवश्यकता छ ।