युवा नेता बच्चेलाल सरदारले बालेन सरकार जनभावना विपरीत अगाडि बढे यसको हविगत ओली सरकारभन्दा खराब हुने बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ३ स्थित मट्टीगढामा आइतबार आयोजित भुमिहीन सुकुम्बासी, अव्यवस्थित, बसोबासीको गाउँपालिका स्तरीय खबरदारी सभा तथा संगठन निर्माण भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
खबरदारी सभामा बोल्दै प्रमुख अतिथि अध्यक्ष राम । फोटो : न्यूज टुडे
पालिका स्तरीय भेलालाई सम्बोधन गर्दै युवा नेता सरदारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गरिव, सुकुम्बासी विरोधी रहेको जिकिर गरे । सरकारको दायित्वबाट बर्तमान बालेन सरकार पन्छिनु दुर्भाग्यपूर्ण भएको बताउँदै उनले सरकारले जनताको स्वस्थ्य शिक्षा,गाँस, बास, आवासको मौलिक हक विरुद्ध डोजर आतंक सिर्जना गरेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले सरकार जनभावना विरुद्ध एकपक्षीय एकपछि अर्को निर्णय लाद्ने प्रयास गरिरहेको भन्दै सरकार जनताप्रति जवाफदेही नभए ओली सरकारको भन्दा खतरनाक हविगत हुने उद्घोष गरे । उनले भुमिहीन सुकुम्बासीमाथिको आक्रमण जारी राखी अझै नसचिए छिटै जनताले अमेरिकाको शरणमा पुर्याउने चेतावनी दिए ।
भुमिहिन सुकुम्बासी संघ सप्तरीका अध्यक्ष प्रथमलाल रामले भुमिहिन सुकुम्बासीको उचित व्यवस्थापन नगरी उठिबासको नीति लिए प्रतिकार गर्ने चेतावनी दिए । उनले अव्यवस्थित तथा सुकुम्बासी बस्तीमा डोजर आतंक बन्द गर्न आग्रह गरे ।
पूर्व प्रधानाध्यापक रमानन्द लेखीले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा जनतासंग गरेको बाचा विपरीत जनतामा त्रास फैलाएको बताए।
इन्जिनियर हरि प्रसाद चौधरीले राज्य आतंकबाट सुरक्षित हुन संगठित हुनुको विकल्प नरहेको बताए । उनले राज्य शक्तिको दुरुपयोग गरि सुकुम्बासी माथि हुने दमन विरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्नेमा जोड दिए ।
पत्रकार बृजमान तामाङले अहंकार र प्रतिशोधको राजनीतिको शिकार भुमिहीन सुकुम्बासीलाई बनाउनु नहुने बताए । उनले पार्टीलाई भोट नदिएको झोकमा प्रतिशोध साध्ने नियतले कुनैबेला पनि आक्रमण हुन सक्नेप्रति सचेत रहनु अपरिहार्य रहेको बताए ।
युवा नेता रामचन्द्र रामले व्यक्तिले ठगी गरेको सहकारी पीडितको बचत फिर्ता गरि राज्यको राज्यकोषको दुरुपयोग गरेको बताए । उनले सहकारीको ठगिएको बचत रकम ठगीमा संलग्नहरुबाटै असुल गरि फिर्ता गर्नुपर्नेमा जोड दिए ।
अखिल नेपाल सुकुम्बासी संघ अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका संयोजक बेचन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा दलित नेता रुन्दी राम,भगवती प्रसाद चौधरी,मो.मन्सुर किस्मत, डम्बर सरदार, शिवनारायण सरदार,चनरदेवी राम, ज्ञानवती देवी राम लगायतले बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कदमको विरोध गरे ।
कार्यक्रम संचालन अनिल परियारले गरेका थिए । अखिल नेपाल सुकुम्बासी संघ जिल्ला समिति सप्तरीद्वारा आयोजित खबरदारी भेला तथा संगठन निर्माण कार्यक्रममा पालिका अन्तर्गतका विभिन्न वडाका सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको सहभागिता रहेको थियो ।