सप्तरी निर्वाचन क्षेत्र नम्बर १ की साँसद पुष्पा कुमारी चौधरीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको बर्तमान सरकारले सुकुम्बासीको घरमा डोजर चलाउने हल्ला विपक्षीको भ्रमको खेती मात्र भएको बताएकी छिन् । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा शनिबार पार्टीको गाउँपालिका स्तरीय प्रथम अधिबेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उद्घाटन समारोहमा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँसद चौधरीले रास्वपा नेतृत्वको सरकारले सुकुम्बासीको पहिचान गरि व्यवस्थापन गर्ने बताइन् । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार देशको परिबर्तनको पक्षमा रहेको बताउँदै उनले बर्तमान सरकारले नै देशमा सुशासन, समृद्धि र विकाससंगै जनताको अबस्थामा परिबर्तन ल्याउने दावी गरिन ।
सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने ह्ल्ला विपक्षीहरुले फिँजाएको भ्रम मात्र भएको बताउँदै उनले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने हैन उनीहरुको उचित व्यवस्थापन गर्ने जिकिर गरिन ।
उनले यूगौसम्म भ्रष्टाचार र बेथितिबाट अस्तव्यस्त रहेको देश र समाजलाई मुक्ति दिन सरकारले दृढ संकल्पको साथ अगाडि बढेकोले पार्टीलाई एकताबद्व बनाएर अगाडि बढ्न आग्रह गरिन ।
रास्वपा संघीय मंचका सदस्य तुलसी थारुले देशलाई नयाँ दिशामा लाने बैकल्पिक शक्तिको रुपमा पार्टी अगाडि बढेकोले सम्पूर्ण शोषित, पिडित र उपेक्षामा परेका समुदायहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) अग्नीसाइर कृष्णसवरन गाउँपालिका तदर्थ समितिका गाउँपालिका संगठन विभाग प्रमुख निर्मल रायको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला उपसभापति रिता चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका संस्थापक अध्यक्ष रघु कुमार सिंह थारु,साविक प्रशवनी गाविसका अध्यक्ष रामदेव यादव,रास्वपा स्थानीय नेता सिताराम सुवेदी, जेनजी प्रतिनिधि अर्मेन्द्र ठाकुर, मुकेश साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) अग्नीसाइर कृष्णसवरन गाउँपालिका तदर्थ समितिका सचिव सुधीर कुमार मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य कन्चन कुमारी चौधरीले गरिन ।
अधिबेशनले गाउँपालिका स्तरीय नयाँ नेतृत्व चयन गर्ने संगठन विभाग प्रमुख रायले जानकारी दिए ।