न्यूज टुडे
राजविराज, ०८ जेठ ।
उज्यालो पार्टीका नेता एवम् सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. दिपक चौधरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा सुकुम्बासी बस्तीमा डोजर चलाएको घटना घोर निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा सुकुम्बासीलाइ हटाएको नक्कल गरि बस्तीमा डोजर चलाएको भन्दै डा. चौधरीले घटना प्रति चासो व्यक्त गर्दै निन्दा गरेका हुन् ।
‘काठमाडौंमा सुकुम्बासीलाई हटाएको नक्कल गर्नेले यहाँ गरिएको व्यवस्थापन पनि सिक्नु पर्छ’ उनले भने,’मलाई जानकारी भए अनुसार तिनीहरुलाई केही राहतको आवश्यकता रहेको बुझेँ । तसर्थ आवश्यकता अनुसार गाँस बासको व्यवस्था गरियोस ।’
गाउँपालिकासंग समेत समन्वय नगरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु अत्यन्तै दु:खद भएको बताउँदै उनले पीडित परिवारहरुको उचित व्यवस्थापनका लागि आग्रह गरे ।
‘यस सम्बन्धमा तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्षसँग कुरा हुँदा वडा स्तरबाट पालिकासँग राम्रो सहकार्य नै नगरी भत्काएको सुुनियो । अध्यक्ष ज्यू उपचारको क्रममा बाहिर रहनु भएको र दुईतिन दिनमा पालिका पुगेपछि यस सन्दर्भमा व्यवस्थापनकालागि सहयोग गर्ने बताउनु भएको छ । ,उनले भने,’तर वडा अध्यक्षसँग सम्पर्क हुन सकेन भने सचिव ज्यूसँग सम्पर्क हुँदा यस सम्बन्धमा आवश्यकता अनुसार सहयोग हुने कुरा बताउनु भएको छ । “
यसमा राजनीति गर्न नहुने बताउँदै डा. चौधरीले कसैको नक्कल गर्दा मानवीयता पनि मर्न दिन नहुने उल्लेख गरे ।
सकरपुरामा ऐलानी जग्गा खाली गराउने क्रममा ७ घरपरिवारको घर भत्काइएपछि स्थानीय पीडामा छन्। घर भत्काइएपछि परेको तनाव र पीडाका बीच एक ज्येष्ठ नागरिक(महिला)को मृत्यु भएपछि गाउँ शोकाकुल बनेको छ।