• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बाराको परवानीपुर गाउँपालिका–५ का वडा अध्यक्षले सडक ढलान कार्यको भिडियो खिच्दै गरेका एक युवकमाथि हातपात गरेका छन् ।
प्रदेश सरकारले ससर्त अनुदानमा उपभोक्ता समिति मार्फत भईरहेको उक्त कामको गुणस्तर कमजोर रहेको, पानी निकासको व्यवस्था नै नगरी सडक ढलान गरेको भन्दै स्थानीयले विरोध जनाउँदै आएको अवस्थामा ती युवकले भिडियो खिच्दा उनीमाथि हातपात भयो । सरकारी बजेटमा हुने सार्वजनिक निर्माणका काममा गुणस्तर हुनुपर्छ भन्ने कुरा सबैको चासोको विषय हो र यसमा निगरानी गरिनु पनि पर्दछ । तर असार मसान्त आउन लागेपछि हतार हतारमा गुणस्तरीय काम गरेर बजेट तह लगाउने नियत राख्नेहरुका लागि जनस्तरबाट गरिने यस्तो निगरानी असहय हुन्छ अनि उनीहरु कुटपिटमा समेत उत्र्ने गरेका उदाहरण भेटिन्छन् । जनताले तिरेको करबाट खडा भएको सरकारी बजेट दुरुपयोग गर्न पाईन्न र त्यसप्रति निगरानी र खबरदारी गर्ने अधिकार जनतालाई रहन्छ नै । त्यसमाथि सरकारले सुशासन प्रति प्रतिबद्धता नै जनाईसकेका कारण चालु आर्थिक वर्ष समाप्त हुन थालेपछि हतारमा गुणस्तरहीन काम गरेर बजेट पचाउने नियत राख्दछ भने यसलाई भ्रष्टाचारकै रुपमा लिएर कारवाही चलाईनु पर्दछ । असार मसान्त आउनै लागेको अहिलेको अवस्थामा बारामा मात्र नभई अन्यत्र पनि यस्ता कुकृत्य भएका हुन सक्छन् । काम सम्पन्न गरेर समयमै भुक्तानी लिईसक्नुपर्ने प्रावधानले गर्दा धेरैलाई हतारो र काम सक्ने चटारो हुन सक्छ ।
अतः गुणस्तरयुक्त काम होस् र सरकारी बजेटको सदुपयोग हुन सकोस् भन्नका लागि यस्ता काम जनस्तरबाट पनि निगरानीको आवश्यकता छ ।