चालु आर्थिक वर्ष समाप्तिको चरणमा छ । जेठ १५ गते अर्थमन्त्रीले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । आर्थिक वर्ष (चालु) सकिनु अगावै सम्पन्न गरिसक्नुपर्ने कामका लागि यति बेला दौडधूप चल्न थालेको छ ।
समयमा काम नसके भुक्तानी रोकिने र बजेट फ्रिज हुने भएका कारणले पनि यस्तो दौडधूप चल्ने गरेको भनेर बुझ्न सकिन्छ । तर यसरी हतारमा काम गर्दा त्यसको गुणस्तर कतिको छ भन्ने कुरालाई भने नजर अन्दाज गर्न मिल्दैन । कच्ची काम गरेर विगतमा यस्तै समयमा बजेटको ब्यापक दोहन भएको भन्ने गुनासो उठेकै हो । सुशासनका लागि समयमा कामको थालनी गर्ने, गुणस्तरलाई ध्यानमा राख्दै समयसीमा भित्रै त्यसमाथि सम्पन्न गरेर भुक्तानी लिने परिपाटी स्थापित गर्न सकियो भने मात्र सुशासनको लक्ष हासिल गर्नमा पनि सघाउ पुग्नेछ । बरु बजेट फ्रिज हुन्छ भने त्यसलाई चिन्ताको विषय नमानिएला । तर कच्ची काम गरेर भुक्तानी लिने प्रवृत्ति अत्यन्त घातक यस कारणले मानिन्छ किनकी त्यस्तो काम टिकाउ नहुनाले जनताले विकासको प्रत्याभूति पाउँदैनन् र बजेटको दोहन मात्र हुन्छ ।
असार मसान्त आउने समयमा वर्षायाम रहने भएका कारणले पनि त्यस्तो समाचार हतार हतारमा गरिएको निर्माण कार्य गुणस्तरयुक्त नरहने भएका कारण जसरी भएपनि बजेटलाई खर्च गरेर सकाउने प्रवृत्तिमाथि कडाई गर्न जरुरी रहन्छ । यसमा सम्बन्धित निकायले चासो लिनु पर्ने हुन्छ ।