• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पाँचदशक पुगेको अवसरमा जनचेतना माविमा मनाइयो स्वर्ण महोत्सव

गाउँपालिका अध्यक्ष चौधरीद्वारा उद्घाटन
पाँचदशक पुगेको अवसरमा जनचेतना माविमा मनाइयो स्वर्ण महोत्सव
न्यूज टुडे
राजविराज,०४ जेठ ।
श्री जनचेतना माद्यामिक विद्यालय अग्नीसाइर कृष्णासवरन गाउँपालिका  १  घोघिदाहा भवानीपुर पाँचदशक पार गर्न सफल भएको अवसरमा स्वर्ण महोत्सव मनाइएको छ ।  श्री जनचेतना मावि स्वर्ण महोत्सव २०८२ मुल आयोजक समितिद्वारा सोमबार आयोजित एक समारोहका वीच महोत्सव उद्घाटन गरिएको हो ।
स्वर्ण महोत्सव उद्घाटन समारोहमा मञ्चासीन प्रमुखअतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
मुल आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले  गमलामा बृक्षरोपण गरि महोत्सवको उद्घाटन गरे । 
महोत्सव उद्घाटन गर्दै अध्यक्ष चौधरीले पालिकामै ऎतिहाँसीक पहिलो पटक स्वर्ण महोत्सव आयोजना गरेको प्रति खुशी हुँदै अन्य विद्यालयहरुको लागि पनि सिकाई भएको बताए ।  महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै उनले महोत्सवलाई सभ्यभव्य पूर्वक सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
विज्ञान प्रदर्शनी अवलोकन गर्दै प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
उपाध्यक्ष कल्पना कुमारी चौधरीले महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयम थपिने विश्वास व्यक्त गरिन । महोत्सवको अवसरमा विज्ञान प्रदर्शनीसहितका अन्तर विद्यालय स्तरीय क्रियाकलापले गाउँपालिकाका विद्यालयहरुको शैक्षिक मापन समेत हुने बताउँदै उनले यसले शैक्षिक क्षेत्रको सुधारका लागि मार्गदर्शन गर्ने उल्लेख गरिन । 
महोत्सव सफलताका लागि गाउँपालिकाले गरेको सहयोगको प्रतिबद्धता पूरा गर्ने विश्वास दिलाउदै उनले स्वर्ण महोत्सव स्तम्भ निर्माणका लागि गाउँपालिकाले दिएको आश्वासन अनुसारको बजेट समेत निर्धारण गरेको जानकारी दिइन् । 
गाउँपालिकाका संस्थापक अध्यक्ष परशुराम चौधरीले स्वर्ण महोत्सवले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गर्ने बताउँदै मर्यादित र गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए । शिक्षालाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिदै उनले गाउँपालिकाको शैक्षिक गुणस्तर उकास्न नवीन सोच र योजना ल्याउन आग्रह गरे ।
पत्रकार बृजमान तामाङले शिक्षालाई औपचारिक मात्रमा सिमित नगरी  उपयोगी बनाउनु पर्नेमा जोड दिए । उनले राज्यले शिक्षामा ठूलो लगानी गरेपनि अपेक्षित प्रतिफल आउन नसकेको टिप्पणी गरे । 
कार्यक्रममा महिकर श्यामा माद्यामिक विद्यालय प्रशवनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर प्रसाद सिंह, श्री ठाकुरजी माद्यामिक विद्यालय जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल, मुल आयोजक समितिका सदस्य शिक्षाविद् दुर्गा प्रसाद चौधरी, विद्यालयका शिक्षक हरेराम चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
मुल आयोजक समितिका सचिव अशोक कुमार चौधरी र शिक्षक संजय योन्जनद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक श्याम कुमार चौधरीले गरे भने महोत्सवको बारे आयोजक समितिका कोषाध्यक्ष धर्म नारायण ठाकुरले प्रकाश पारे । 
उक्त अवसरमा विद्यालयले जेठ ४ गतेदेखि ९ गतेसम्म विज्ञान प्रदर्शनी, बक्तृत्वकला, हाजिरी जवाफ, गीत तथा नृत्य,खेलकुद प्रतियोगिता, स्मारिका प्रकाशन तथा स्वर्ण महोत्सव स्तम्भ अनावरण, विभिन्न व्यक्तित्व सम्मानसहित विभिन्न कार्यक्रम आयोजना गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैना देवी सिंहले जानकारी दिइन् । 
गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीले रिवन काटेर उद्घाटन गरेकी विज्ञान प्रदर्शनीको प्रमुख अतिथि चौधरी,वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, ४ का अध्यक्ष तेज नारायण यादव सहित जनप्रतिनिधि,शिक्षाविदहरुले अबलोकन समेत गरेका थिए ।