न्यूज टुडे
राजविराज, ३० बैशाख ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष दिनानाथ चौधरीको पुन: पद वहाली हुने भएको छ । उच्च अदालत जनकपुर- राजविराज इजलासले बुधबार चौधरीको पक्षमा फैसला गरेपछि उनको पद बहाली हुने भएको हो ।
पद बहाली गरिपाउँ भनि उच्च अदालत जनकपुर- राजविराजमा गरेको रिटमा सुनुवाइ गर्दै अध्यक्ष चौधरीको पक्षमा फैसला भएको अध्यक्ष चौधरी निकट एक कानून व्यवसायीले बताए । फैसलाको पूर्वपाठ आएपछि २/ ३ दिन भित्र अध्यक्ष चौधरीले पद बहाली गर्ने श्रोतको दावी छ ।
अध्यक्ष चौधरीले राजिनामा दिएको दाबी गर्दै उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई बहुमत कार्यपालिका सदस्यले कार्यबाहक तोकेपछि अध्यक्ष चौधरीको पद निष्क्रिय भएको थियो । कार्यपालिका बैठकको निर्णय बदर माग दाबी गरि यसअघि अध्यक्ष चौधरीले गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपाध्यक्ष कल्पना कुमारी चौधरीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्।