रामनाथ यादव
राजविराज,३०बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुला निवासी विरेन्द्र राय (छोटु) की पत्नी अनिता देवी रायको शव बुधबार फेला परेको हो ।
गत बुधबार रातिदेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिकाको वडा नम्बर ५ स्थित ‘नौ किलोमिटर’ भन्ने स्थानमा कोशी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । शव सडेको तथा शङ्कास्पद अवस्थामा फेला परेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले मृतक महिलाको हातखुट्टा डोरीले बाँधिएको अवस्थामा शव फेला परेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई ढुङ्गा प्रहार गरी हत्या गरिएको देखिएको उनले बताए ।
मृतकका परिवारजनका अनुसार बुधबार राति छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी ५–६ जनाको समूहले अनिता देवीलाई घरबाटै जबरजस्ती अपहरण गरी लगेका थिए। घटनापछि घरको आँगनमा रगतका छिटा समेत देखिएकाले सोही राति नै उनीमाथि साङ्घातिक आक्रमण भएको आशङ्का गरिएको थियो ।
परिवारले तत्काल प्रहरीलाई जानकारी गराए पनि खोजतलासका क्रममा आइतबार मात्र उनको शव क्षतविक्षत अवस्थामा फेला परेको हो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।