• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनचेतना मावि घोघिदाहाको स्वर्ण महोत्सव तयारी पूरा : जेठ ४ देखि ९ गतेसम्म विभिन्न कार्यक्रम

जनचेतना मावि घोघिदाहाको स्वर्ण महोत्सव तयारी पूरा : जेठ ४ देखि ९ गतेसम्म विभिन्न कार्यक्रम
न्यूज टुडे
राजविराज,०३ जेठ । 
श्री जनचेतना मावि स्वर्ण महोत्सव २०८२ अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ घोघिदाहा भवानीपुरको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सव मुल आयोजक समितिद्वारा विद्यालय परिसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवको तयारी बारे जानकारी गराएको हो । 
पत्रकार सम्मेलनमा स्वर्ण महोत्सव तयारी बारे जानकारी गराउँदै आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरी । फोटो : न्यूज टुडे
पत्रकार सम्मेलनमा बोल्दै महोत्सव मुल आयोजक समितिका अध्यक्ष दिलिप कुमार चौधरीले विद्यालयले सफलता पूर्वक ऎतिहासीक ५० बर्ष पूरा गरेको सुखद अवसरमा स्वर्ण महोत्सव आयोजना गरिएको बताए । उक्त अवसरमा सोमबार विधिवत उद्घाटन गरी जेठ ९ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रमहरु गरि महोत्सव मनाइने उनले जानकारी दिए । 
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले सोमबार १ बजे महोत्सवको बिधिवत उद्घाटन गरेपछि शिक्षा तथा खेलकुद सम्बन्धि विभिन्न सिर्जनशील कार्यक्रम ६ दिनसम्म जारी राख्ने बताए । जेठ ९ गते समापन हुने कार्यक्रममा विद्यालयको विकासमा योगदान गर्ने तथा प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कृतसहित सम्मान गरिने उनले जानकारी गराए । 
समितिका सचिब अशोक कुमार चौधरीले महोत्सवमा स्वर्ण महोत्सवको स्तम्भ निर्माण तथा उद्घाटन, मावि स्तरीय प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप आयोजना गरिने बताए ।  
उनले २०८३ जेठ ४ गते १ बजे उद्घाटन कार्यक्रम, अन्तर मावि प्रतियोगितात्माक क्रियाकलाप, विज्ञान प्रदर्शनी,जेठ ५ गते विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म छात्र- छात्रा दुबै भलिबल प्रतियोगिता, ‘शिक्षा र संस्कार, सफल जीवनको आधार’ शिर्षकमा वक्तृत्त्वकला प्रतियोगिता, जेठ ६ गते हाजिरी जवाफ प्रतियोगिता, भलिबल प्रतियोगिताको फाइनल खेल, जेठ ७  गते गीत संगीत प्रतियोगिता,नृत्यकला प्रतियोगिता, जेठ ८ गते रक्तदान कार्यक्रम र ९ गते स्वर्ण महोत्सव स्मारिका प्रकाशन तथा समापन समारोह आयोजना गरिने बताए । 
महोत्सवका सुरक्षाका लागि इलाका प्रहरी कार्यालय महुली र सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प सितापुरसंग समन्वय गरि व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
मुल आयोजक समितिका कोषाध्यक्ष धर्म नारायण ठाकुरले महोत्सवमा १५ लाख खर्च हुने अनुमान गरिएको बताए ।  स्तम्भ निर्माणमा गाउँपालिकाको सहयोग हुने र अन्य खर्च पूर्व विद्यार्थी,वैदेशिक रोजगारीमा रहेकाहरू, मुल आयोजक समितिका पदाधिकारी, गाउँघरमा चन्दा संकलन गरि जुटाएको उनले जानकारी दिए । 
आर्थिक सहयोग गर्ने दाता, संस्था र व्यक्तिहरुको नाम रकम शिलालेख र स्मारिकामा उल्लेख गरिने बताउँदै उनले ५ हजार र सो भन्दा माथिको रकम बरियता क्रम अनुसार शिलालेखमा नाम लेखिने बताए । 
विद्यालयका प्रधानाध्यापक श्याम कुमार चौधरीले २०८२ फागुनमा विद्यालय ५० बर्ष पुगेको भएपनि प्रतिनिधिसभा सदस्य निर्वाचन र एसइई परिक्षाको कारण २०८३ मा सार्नु परेको बताए । उनले समय अनुकूलताको कारण स्वर्ण महोत्सव केही पछाडि सारिएको स्पष्ट गर्दै २०८३ मा महोत्सव मनाइएको भएपनि मुख्य नारा भने २०८२ नै राखिएको बताए । 
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष नैना कुमारी सिंहले आफ्नो पालामा स्वर्ण महोत्सव मनाउँन पाउँदा अत्यन्तै खुशी लागेको बताइन् ।  कार्यक्रमको भव्य तयारी गरेकोमा स्वर्ण महोत्सव तयारी मुल आयोजक समितिलाई धन्यवाद व्यक्त गर्दै उनले महोत्सवको सफलताको लागि सबैपक्षलाई सहयोगका लागि आग्रह गरिन । 
पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्व प्रधानाध्यापक रामदेव चौधरीले महोत्सवमा गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई सहभागी गराई शिक्षाको अवस्थाको समिक्षा तथा सुधार र गुणस्तरीय शिक्षामा प्रोत्साहन गर्ने प्रमुख उदेश्य रहेको बताए ।  उनले सहभागी विद्यालय तथा सरोकारवालाहरुलाई सक्रिय सहभागीता जनाउन आग्रह गर्दै महोत्सवलाई सार्थक र उपलब्धिमुलक बनाउन सबैपक्षको सहयोग अपरिहार्य हुने बताए । 
पत्रकार सम्मेलनमा मुल आयोजक समितिका सल्लाहकारहरु तारनी प्रसाद चौधरी,देवीलाल चौधरी,बासुदेव चौधरी,महेश प्रसाद चौधरी,देवी प्रसाद चौधरीको समेत उपस्थिति थियो । 
यसैगरी मुल आयोजक समितिका सदस्य चतुर नारायण चौधरी,रामेश्वर साह,पन्चाम देव चौधरी,देवकान्त चौधरी, राजु प्रसाद चौधरी,महेश प्रसाद विश्वकर्मा,संगिता कुमारी सिंह, राम प्रसाद चौधरी,दुर्गाप्रसाद चौधरीलगायतका उपस्थित थिए ।