सप्तरीका विभिन्न विद्यालयमा पनि यति बेला विद्यार्थी भर्ना अभियान चल्दैछ । विद्यालय जाने उमेरका सबै बालबालिकालाई पढ्नका लागि भर्ना गर्न भनी घरदैलो गर्ने क्रम जारी छ ।
शैक्षिक स्तरमा सुधार ल्याउने उद्देश्यले पनि यस्तो अभियानलाई सान्दर्भिक तथा उपयोगी मान्न सकिन्छ । गरिबी तथा चेतना अभावका कारणले अझै पनि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने बरु घरेलु काममा लगाउने गरेको देखिन पाईन्छ । कानूनले नै बालश्रम निषेध गरेको भएपनि यस्ता कार्य अझै चल्न छोडेका छैनन् । यस्तो अवस्थामा आफ्ना बालबालिकालाई काममा लगाउने होईन, विद्यालयमा पढ्नका लागि पठाउनुपर्छ भन्ने कुरा तिनका अभिभावकलाई सम्झाई बुझाई गर्ने भर्ना अभियान अनतर्गतको घरदैलो कार्यक्रमको विशेष महत्व छ । यसरी भर्ना गरिएका बालबालिकालाई कसरी विद्यालयमा टिकाएर राख्न सकिन्छ भन्ने तर्फ पनि साथसाथै विचार पुर्याउनु पर्ने आवश्यकता छ । विद्यालय भर्ना अभियान त सञ्चालन गरियो तर भर्ना भएका विद्यार्थीले बीचमै विद्यालय आउन छोडे भने भर्नाका लागि गरिएको मिहिनेत खेर जान सक्दछ ।
तसर्थ विद्यालय छोड्ने कारण पत्ता लगाएर सुधार गर्नु पर्ने पक्षका बारेमा विद्यालय प्रशासनले ध्यान पुर्याउनु पर्ने आवश्यकता त छ नै । यसका साथसाथै अभिभावकहरुले पनि आफ्ना बालबालिका नियमित विद्यालय गईरहेका छन् कि छैनन् भन्ने कुराको खोजखबर राख्न जरुरी छ ।