• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चौधरी फर्किए अध्यक्षको जिम्मेवारीमा : पदभर ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुको अघोषित बहिष्कार

चौधरी फर्किए अध्यक्षको जिम्मेवारीमा : पदभर ग्रहण कार्यक्रममा जनप्रतिनिधिहरुको अघोषित बहिष्कार
न्यूज टुडे
राजविराज, ०१ जेठ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी पुन: जिम्मेवारीमा फर्किएका छन् । उच्च अदालत जनकपुर- राजविराज इजलासले बुधबार चौधरीको पक्षमा फैसला गरेपछि शुक्रबारदेखि चौधरी अध्यक्षको जिम्मेवारी फर्किएका हुन् ।
अध्यक्ष चौधरीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादव । फोटो : न्यूज टुडे
उनले गाउँपालिका आएर पदभार ग्रहण गरेका छन् । चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुले स्वागत गरे । चौधरीले पदभार ग्रहण गरिरहँदा निबर्तमान कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीसहित कुनैपनि वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य एवम् कोहीपनि जनप्रतिनिधिहरु उपस्थित भएनन् । 
पदास्थपनापछि अध्यक्ष चौधरीसंग सामुहिक तस्वीरमा कर्मचारीहरु । फोटो : न्यूज टुडे
उनीहरुले अध्यक्षको पदभार कार्यक्रममा सहभागीता नजाएर अघोषित रुपमा बहिष्कार गरेका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रबक्ता तेज नारायण यादवले अध्यक्षको पदभार कार्यक्रम बारे समयमा जानकारी नपाउँदा जनप्रतिनिधिहरु उपस्थित हुन नसकेको बताए । उनले  अध्यक्षको पदभार कार्यक्रमलाई बहिष्कार भने नगरिएको स्पष्ट पारे । 
झण्डै ९ महिना अगाडि अध्यक्ष चौधरीले राजिनामा दिएको दाबी गर्दै उपाध्यक्ष कल्पना कुमारी चौधरीलाई बहुमत कार्यपालिका सदस्यले कार्यबाहक तोकेपछि अध्यक्ष चौधरीको पद निष्क्रिय भएको थियो । कार्यपालिका बैठकको निर्णय बदर माग दाबी गरि यसअघि अध्यक्ष चौधरीले गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उपाध्यक्ष कल्पना कुमारी चौधरीले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्। 
२०८२; कार्तिक १८ गते अदालतले मुद्दाको अन्तिम किनारा नलागुन्जेल कार्यपालिकाको निर्णय अनुसार हुने  आदेशपछि  कार्तिक २० गते उपाध्यक्ष चौधरी कार्यबाहक अध्यक्षको जिम्मेवारीमा आएकी थिइन् ।
पद बहाली गरिपाउँ भनि उच्च अदालत जनकपुर- राजविराजमा गरेको रिटमा सुनुवाइ गर्दै  बुधबार अध्यक्ष चौधरीको पक्षमा फैसला आएपछि उनी जिम्मेवारीमा आएका हुन् ।