सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमा डोजर चलाउने निर्णयको विरोधमा प्रधानमन्त्री बालेन्द्र शाहको राजिनामा माग गर्दै राजविराजमा बिहीवार बृहत प्रदर्शन गरिएको छ । अखिल नेपाल सुकुम्बासी संघ सप्तरीको आयोजनामा प्रधानमन्त्री शाह नेतृत्वको सरकार विरुद्ध सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेको हो ।
भुमीहीन सुकुम्बासीमाथि सरकारी दमनको विरुद्धमा विरोध प्रदर्शनमा उत्रिएका सुकुम्बासीहरु । फोटो : न्यूज टुडे
अखिल नेपाल सुकुम्बासी संघ सप्तरीका अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा निस्किएको विरोध प्रदर्शनमा प्रधानमन्त्री साह तथा सरकार विरुद्ध चर्को नारा लगाइएको थियो ।
‘बालेन सरकार मुर्दावाद, बालेन सरकार राजिनामा दे, बालेन तेरो पाराले दुख पायो साराले, बालेन चोर देश छोड, गरिव मारा बालेन सरकार मुर्दाबाद, डोजर आतंक बन्द गर, बसोबासको आधारमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर’ लगायतका नारा लगाउँदै राजविराज नगरपालिकाको मुख्य सडक तथा चौकको परिक्रमा गरि दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले बालेन्द्र साह नेतृत्वको पराधिन सरकार असफल भएको टिप्पणी गरे । उनीहरुले बाहिरी शक्तिको इशारा र अरुको अधीनमा चल्ने बालेन्द्र सरकार देश र जनताको हितमा नभएको भन्दै अविलम्ब राजिनामा दिनुपर्ने बताए ।
बालेन्द्र सरकारले भुमिहीन सुकुम्बासीलाई उठिवास लगाएको भन्दै आक्रोश व्यक्त गर्दै बक्ताहरुले सुकुम्बासी माथीको अत्याचार बन्द नभए सशक्त आन्दोलनमा उत्रीने चेतावनी दिए ।
संघले सुकुम्बासी र अव्यवस्थित बसोबासी बस्तीमा डोजर आतंक नरोकिए प्रतिरोध गर्ने चेतावनी दिदै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई बुधबार ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला अध्यक्ष प्रथमलाल रामको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका सुकुम्बासीहरुले प्रजिअ पोखरेललाई बुझाइएको ज्ञापनपत्र भुमिहीन दलित, सुकुम्बासी,अव्यवस्थित बसोबासी बस्तीमा डोजर आतंक बन्द गर्न जोडदार माग गरिएको थियो ।
सर्वोच्च अदालतको आदेशपछि पनि काठमाडौ र कोहलपुरका सुकुम्बासीबस्तीमा डोजर चलाएप्रति असन्तुष्टि जनाएको ज्ञापनपत्रमा घोर निन्दा गर्दै उक्त सरकारी कदमको भर्त्सना गरिएको थियो ।
सरकारले संविधान विपरीत आवास हक तथा घरबासको नागरिकको मौलिक अधिकारको हनन गर्दै सुकुम्बासीहरुलाई उठिबास लगाउँदा समेत् मानवअधिकारवादी संघसंस्थाहरु मौन बसेको भन्दै ज्ञापनपत्रमा आक्रोश व्यक्त गरिएको छ ।
काठमाडौ र कोहलपुरका सुकुम्बासी बस्तीमा चलाइएको डोजर आतंकको विरोधमा र देशभर डोजर आतंक रोक्न अखिल नेपाल सुकुम्बासी संघको आयोजनामा बिहीबार पूर्वपश्चिम मेची- महाकाली राजमार्गमा चक्काजाम आव्हान गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।