न्यूज टुडे
राजविराज,३१ बैशाख ।
स्वर्गीय काशीराज गंगादेवी सम्मान पुरस्कार २०८३ बाट वरिष्ठ अधिवक्ता कृष्णानन्द देव पुरस्कृत भएका छन् । सप्तरी जिल्लामा पाँच दशक देखि कानुन व्यावसायी पेशामा आवद्ध देव १५ हजार नगदसहित पुरस्कृत भएका हुन् ।
उच्च अदालत बार एशोसिएशन राजविराजद्वारा आयोजित स्व.काशीराज गंगादेवी सम्मान पुरस्कार तथा सप्तरी जिल्ला अदालतका नव आगन्तुक न्यायाधीश बाबुराम भट्टराईको स्वागत एवं प्रमाणपत्र वितरण कार्यक्रममा वरिष्ठ अधिवक्ता देवलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेलले पन्ध्रहजार नगद र प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा सप्तरी जिल्ला अदालतका नव आगन्तुक न्यायाधीश बाबुराम भट्टराईलाई स्वागत गरिएको छ । उक्त अवसरमा नेपाल कानुनी व्यावसायी परिषद्ले लयर्स समितिको आयोजनामा २०८२ साल पौष १८ गतेदेखि २४ गतेसम्म ( ४२ घण्टा) संचालन गरिएको फौजदारी कानुन विषयक आधारभूत तालिममा सहभागी अधिवक्ताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उच्च अदालत बार एशोसिएशन राजविराजका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल,रामबहादुर थापा,वरिष्ठ अधिवक्ता सुजित पोखरेल, भानुभक्त निरौला, रामजी साह,अधिवक्ता बलराम यादव, मनु खनाल दाता परिवारका नुतन पोखरेल लगायतले मन्तव्य व्यक्त गरे ।