• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यार्थीबाट अबैध असुली स्वीकार गर्नु आपत्तिजनक : पूर्वमन्त्री यादव

विद्यार्थीबाट अबैध असुली स्वीकार गर्नु आपत्तिजनक : पूर्वमन्त्री यादव
न्यूज टुडे
राजविराज, ३१ बैशाख । 
जसपा नेपालका नेता एवम् पूर्वमन्त्री उमेश कुमार यादवले राजविराज नगरपालिकाले विद्यार्थीबाट अबैध असुली स्वीकार गर्नु घोर आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा बिहिवार एक स्टाट्स पोष्ट गर्दै पूर्व मन्त्री यादवले फर्जी रसिद छापेर पैसा बुझेको रसीद दिएर गरेको काम घोर आपत्तिजनक भएको टिप्पणी गरेका हुन् । 
‘राजबिराज नगरपालिकाको शिक्षा शाखाद्वारा बोर्डिङ स्कुलको कक्षा ८ का विद्यार्थीहरुबाट उठाइएको रकम अवैध काम गरेको कुरा नगरपालिकाले गर्वले स्वीकार्न अलिकति पनि लज्जाएन’ भन्दै उनले फर्जी रसिद छापेर पैसा बुझेको रसीद दिएर गरेको काम घोर आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
उनले नगरपालिकाको शिक्षा शाखाले विद्यार्थीलाई आर्थिक शोषण गर्न अनुमानित पत्र दिएर विद्यालय संचालकहरुको मनोबल बढाएको भन्दै कडा शब्दमा विरोध जनाएका छन् । 
‘कसरी फर्जी रसिद छपाउने आँट गर्‍यो ? गत आर्थिक बर्षहरुमा पनि यस्तै कामहरु भएको थियो।’ उनले उल्लेख ग्रेका छन्, ‘बोर्डिङ स्कूलहरुलाई  विद्यार्थीको आर्थिक शोषण गर्ने हिम्मत त नगरपालिकाको शिक्षा शाखाले लाइसेन्स पो दिएको रहेछ ।”
बोर्डिङ स्कूलहरुले पनि गलत ढंगले उठाएको पैसा फिर्ता गर्नु पर्ने होइन र?  भन्दै उनले प्रश्न उठाएका छन् । 
विद्यार्थीलाई रकम उपलब्ध गराउनु पर्ने उल्लेख गर्दै उनले अबैध असुलीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । 
‘सम्बन्धित विद्यार्थीहरुलाई पैसा फिर्ता दिनुपर्ने र यसमा सहभागी हुनेहरूलाई कारबाही गर्नुपर्ने विषय हामीले सार्वजनिक संजाल मार्फत बारम्बार उठाउँदा पैसा फिर्ता गरेको कुरा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे ,नगरपालिकाले।’ उनले भनेका छन्, ‘के सम्बन्धित विद्यार्थीहरुले पैसा फिर्ता पाएको प्रमाण पेश गरे त? खै  कारबाही भएको ?गत बर्ष पनि यसरी नै उठाइएको पैसा फिर्ता भए त? ।’
बोर्डिङ स्कूलहरुले १० प्रतिशत विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाउनु पर्ने विद्यार्थीहरुलाई पढाइरहेको छ त? भन्दै  उनले प्रश्न समेत गरेको छ ।

‘राजबिराज नगरपालिका शिक्षा शाखाले संस्थागत बिधालयहरुको हालसम्म स्तर निर्धारण किन गर्न सकिरहेको छैन ?
नगरपालिका भित्र कति संस्थागत / सामुदायिक बिधालयहरु छन् ? कुन बिधालय कति कक्षा सम्म पठनपाठन गर्न अनुमति प्राप्त गरेका छन् ? नगरभित्र कति वटा सिकाइ केन्द्रहरु छन् ? उत्कृष्ट बिधालयको पुरस्कार रकम कुन बिधालय लाई कुन कुन आधारमा छनौट गरेर दिदै आएको छ ? यी विषयहरु तुरुन्तै सार्वजनिक गरियोस् ।’ उनले उल्लेख गरेका छन् ।

एकातर्फ विद्यार्थी भर्ना अभियान शुरु छ भने अर्कोतर्फ बिधालयहरुको कक्षा संचालन एबम ग्रेडिङ्ग बारेमा मौनताले खुलेआम अभिभावकहरुलाई शैक्षिक माफियाले लुटने र शैक्षिक माफियाबाट नगरपालिकाको शिक्षा समितिका प्रमुख एबम सदस्यहरुले लुटको रकमबाट हिस्सा उठाउने काम गर्दै आएको उनले आरोप लगाएका छन् । 

‘यसतर्फ राजबिराज नगरपालिकाका जनप्रतिनिधि ,सञ्चारकर्मीहरु ,नागरिक तहबाट प्रश्नहरु उठाउन जरुरी छ’ उनले उल्लेख गरेका छन् ।

राजविराज नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग अबैध रकम असुली गर्ने नीति नरहेको स्पष्ट पार्दै विद्यार्थीबाट उठाएको अबैध रकम सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । 
कार्यबाहक प्रमुख इसरत परविन, शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवसहितका जनप्रतिनिधिहरुले विद्यालयका संचालक तथा प्रधानाध्यापकहरुलाई दोष थुपारेर आफूहरु  जिम्मेवारीबाट पन्छिन खोजेपछि पूर्वमन्त्री यादवले यस्तो टिप्पणी गरेका हुन् ।