• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीसहित देशैभरी राष्ट्रिय परिचयपत्र सेवा सुचारु 

सप्तरीसहित देशैभरी राष्ट्रिय परिचयपत्र सेवा सुचारु 
न्यूज टुडे
राजविराज, ३१ बैशाख ।
राष्ट्रिय परिचय व्यवस्थापन सूचना  प्रणाली अवरुद्ध (सर्भर डाउन) हुँदा  सप्तरीसहित देशभरका अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र सेवा सुचारु भएको छ । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार देखि सेवा सुचारु भएको जानकारी गराएको हो । 
 बैशाख २१ गते  देखि सर्वर डाउन भइ सेवा अवरुद्ध रहेको राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली बुधबारदेखि सुचारु भएको विभागका निर्देशक कमल प्रसाद पाण्डेले बताए । केही प्राविधिक समस्या आएकाले मर्मत कार्य जारी रहेकोमा सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने समस्या राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले रुजु गर्ने सेवा अबरुद्ध भएकोले मिति २०८३/०१/३० गते देखि सेवा सुचारु गरिएको उनले जानकारी दिए । 
राष्ट्रिय परिचयपत्र सेवा प्रणालीमा समस्या आउँदा लामो समयदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा परेका थिए । 
सरकारले राष्ट्रिय परिचयपत्रको नीति ल्याएर जिल्ला प्रशासन कार्यालयबाट वितरणको व्यवस्था मिलाए पनि विभिन्न बहानामा सेवा प्रभावित हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको सेवाग्राहीहरुको गुनासो छ । कहिले सर्भर डाउन त कहिले भीड देखाउँदै अनावश्यक दुख दिने गरेको सेवाग्राहीहरुको भनाइ छ । 
नयाँ जनादेशसहित देशमा सरकार परिबर्तन भएपनि जनताले राज्यबाट पाउने सेवामा परिबर्तन आउन नसकेको सेवाग्राहीहरुको दुखेसो छ । उनीहरुले सरकारले नारामा सुशासन र विधिको सनाई फुकेपनि व्यवहारमा यस्तो नपाएको भन्दै आक्रोश पोखे ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका  राष्ट्रिय परिचयपत्र शाखामा कार्यरत सरोज कुमार यादवले २०८३ बैशाख २१ गतेदेखि (सर्भर  डाउन)  प्रणाली अवरुद्ध  हुँदा राष्ट्रिय परिचयपत्र सेवा प्रभावित भएकोमा बुधबारदेखि पूर्ववत् रुपमा सेवा सुचारु भएको जानकारी दिए ।