• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रहरीले मुद्दा दर्ता गर्न नमानेको गुनासो :  केही विकार्न सक्दैनस भनि विपक्षीले धम्की दिएको दुखेसो

प्रहरीले मुद्दा दर्ता गर्न नमानेको गुनासो :  केही विकार्न सक्दैनस भनि विपक्षीले धम्की दिएको दुखेसो

न्यूज टुडे

राजविराज,३० बैशाख । 

प्रहरीले मुद्दा दर्ता गरि विपक्षीलाई नियन्त्रणमा लिन आलटाल गरेको सप्तरीको रुपनी गाउँपालिका ६ कलहुवाकी एक पीडितले गुनासो गरेकी छिन् । आफन्तको विवाह जन्ती गएर घर फर्कने क्रममा १७ बर्षिय छोरा प्रकाश सरदारलाई टाउकोमा धारिलो हतियार कोदालो प्रहार गर्नेहरू उपर प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको पीडितका आमा रुन्ती देवी सरदारले गुनासो गरेकी हुन् ।

आक्रमणमा परी प्रकाश सरदारको टाउको लागेको गहिरो घाउ । फोटो : न्यूज टुडे

२०८३ बैशाख १४ गते शम्भुनाथ नगरपालिका ६ भगवतपुरकी  बहिनीको छोराको विवाहको जन्ती रुपनी गाउँपालिका ६ स्थित भोटनियामा आएको बेला  स्थानीय ७/८ जनाका समूहले प्रकाशको टाउकोमा कोदालो प्रहार गरि गहिरो चोट लागि अचेल बनाएको पीडितका आमा रुन्तीदेवीले बताइन् । राति ११:३० बजे कोदालो आक्रमणमा परी ढलेपछि भाइसंगै जन्तीबाट घर फर्कदै गरेका जेठो छोरा विकास कुमार सरदारले फोनगरी सुनाएपछी तत्कालै घटना स्थल पुग्दा छोरोलाई रगतले लतपतिएको बेहोस अवस्थामा उठाएर अस्पताल पुर्‍याएको बताउँदै उनले तत्कालै प्रहरीलाई घटना बारे जानकारी गराउँदा समेत  सुनुवार नगरेको गुनासो गरिन ।

सामान्य अबस्थामा हुँदा प्रकाश सरदार । फोटो : न्यूज टुडे

‘घटना लगत्तै इलाका प्रहरी कार्यालय रुपनीमा मौखिक जानकारी गराएँ, एक्ली मान्छे छोराको उपचार गराउनुकी कानूनी प्रक्रियामा जानू समस्यामा परेँ, उनले भनिन्, रुपनी स्थित एक क्लिकमा रातभरि राखी उपचार गरि थप उपचारका लागि १५ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पूर्‍याएँ ।  सोही दिन रुपनी प्रहरीमा लिखित निवेदन दिँदा जिल्लामा दिनु भनी पठायो ।  उनले थपिन : जिल्ला प्रहरी कार्यालय सप्तरीमा घा जाँच गराई पाउ भन्ने व्यहोराको निवेदन दर्ता गरि घाउ जाँचको फारम उपलब्ध भई अस्पताल पुर्‍याएँ । अस्पताललाई रिपोर्ट माग्दा हामी आफै पुर्याउँछौं भनेकाले दुइदिनपछि १६ गते जाँदा प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गर्‍यो ।’

उनले प्रहरीले असहयोग गर्दा छोराको उपचारमा समस्या परेको र विपक्षीको अनावश्यक मानसिक यातना सहनु परेको दुखेसो पोखिन । घटना संलग्नहरु खुलेयाम हिड्दा समेत प्रहरीले उनीहरुलाई पक्राउ नगरेको उनको आरोप छ । 

‘श्रीमान् वैदेशिक रोजगारीका लागि प्रदेशमा हुनुहुन्छ’ म एक्लीले छोराको उपचारतिर हेर्नुकी, न्यायको लागि आवाज उठाउनु, साह्रै समस्यामा छु’उनले भनिन्,पैसाको अभावले छोराको उपचार पनि हुन सकेको छैन । केही गर्न सक्दैनस भनि विपक्षीले धम्की दिदै हिड्छ्न । साह्रै पिडामा परेको छु ।’ 

जिल्ला प्रहरी कार्यालयमा पटकपटक धाउँदा समेत ‘मुद्दा  दर्ता गर्न मिल्दैन, अदालत जानू भनि त्यसै फर्काएको उनले बताइन् । टाउकोको हड्डी काटिएको भए, शरीरको कुनै भाग अंगभंग तथा मृत्यु भएको अवस्थामा मात्र ज्यान मार्ने मुद्दा दर्ता हुने भनि प्रहरी पन्छिने गरेको उनले बताइन् ।

कोदालो प्रहार गर्ने पक्षका कोही सम्पर्कमा आउँदैन, थप धम्कीपूर्ण अपशब्द प्रयोग गरि तनाव दिने गरेको दुखेसो सुनाउँदै उनले प्रहरी पनि विपक्षीको प्रलोभन र  प्रभावमा परी पन्छिने गरेको आरोप लगाइन् । 

छोराहरुलाई पढाइ खर्च जुटाउन श्रीमान विदेशीनु परेको बताउँदै छोरामाथि  ज्यन मर्ने नियत राखी धारिलो हतियार कोदालो प्रहार गर्ने अपरधिहरुमाथि कारबाही नहुँदा ठुलो अन्यायमा परेको उनले बताइन् । 

उनले छोरा दुबैजना उच्च शिक्षाका लागि काठमाडौं बस्दै आएकोमा सानिमाको छोराको विवाह कार्यमा जिल्ला आउँदा लागूऔषधमा लठ भएकाहरुको आक्रमणमा परेको बताइन् । 

आक्रमणकारी पक्षको हेपाहा प्रवृत्ति र प्रहरीको व्यवहारले पीडामाथि थप पीडा थपिएको दुखेसो सुनाउँदै उनले छोराको उपचार र न्यायका लागि पहल गरिदिन हुन सरोकारवालाहरुलाई आग्रह समेत गरिन ।

आफू महिला मान्छे कसैसँग चिनजान छैन कानूनी प्रक्रिया पनि कसरी अगाडि बढ्छ त्यसको सामान्य जानकारी समेत नभएको बताउँदै उनले समस्या समाधानमा अगुवाइ गर्ने मान्छे नहुँदा प्रहरीले समेत चासो नदिएको गुनासो गरिन ।

सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले घाउ जाँच रिपोर्टको आधारमा ज्यान मार्ने उधोग मुद्दा दर्ता गर्न  नमिल्ने भएको स्वीकार गरे ।  उनले सामान्यता हड्डी भाँचिएको, शरीरको कुनैपनि भाग अंगभंग भएको र मृत्यु भएको अव्यवस्थामा मात्र ज्यानमार्ने उधोग मुद्दा  दर्ता गरि कारबाही अगाडि बढाउन सकिने बताए ।

गत २०८३ बैशाख १४ गते राती ११:३० बजे रुपनी गाउँपालिका ६ स्थित भोटिनियाँमा स्थानीय युवाहरुको आक्रमणमा परी प्रकाशको टाउकोमा गम्भीर चोट लागेको छ । टाउकोमा गहिरो चोट लागेको उनको १३ वटा टाँका लगाएर उपचार भइरहेको छ भने उनले अहिले असामान्य व्यवहार देखाउन थालेपछि परिवारमा चिन्ता बढेको छ ।