• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वभनगामाका अग्नीपीडित बिचल्लीमा
रामनाथ यादव
राजविराज , २८ वैशाख ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ वभनगामाका अग्नी पीडित घरवारविहीन हुँदा विचल्लीमा परेका छन् । आगोले सर्वस्व गुमेपछि उनीहरू खुल्ला आकाशमुनी अभावको जीवनयापन गर्न बाध्य भएका हुन् । 
आगलागीका कारण उनीहरूको उठिबास भएको छ ।अग्निपीडित रामअवतार यादव ,जुगेश्वर यादव ,वृद्ध एकल महिला जहरी देवी यादवको सबै सामान  जल्दा उनीहरूकाे दैनिकी कठिन बनेको  स्थानीयले बताए । उनीहरुले त्रिपाल मुनि  नै बालबच्चासहित कष्टपूर्ण रात विताउँने  गरेका छन् ।
खाना वनाउनका लागि नत चुलाे , नत खाद्यन्न  केही नहुँदा चुल्हो बन्द भएको पीडित रामअवतार यादवले वताए ।उनले ‘दिउँसो गर्मी हुँदा र पानी पर्दा ओत लाग्ने छाना नहुँदा राम्ररी निदाउनसमेत नपाएको दुखेसो पोखे ।
गाउँपालिकाले पीडितलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेपनि पकाउने भाडाकुडाको अभाव खेपिरहेको उनले बताए ।  
भएजती सबै धनमाल, लत्ताकपडा र वर्षभरि खाने धान चामल जलेर नष्ट भएको सम्झदा चिन्ताले सताउन थालेको  जुगेश्वर यादवले वताए । कपडा,भाडाकुडा र बस्ने बास नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई धेरै समस्या भएको उनले वताए । यादवले बस्ने घर नहुँदा गर्मीयाममा धेरै समस्या भएको दु:खेसाे  सुनाए । जलेको घरमै खाट लगाएर आकाश मुनि रात विताउने गरेका उनले वताए ।
 वैशाखकाे चर्काे घाममा खुला आकाशमुनि सुत्नुपर्दा लामखुट्टे र सर्पदंशकाे डर हुने गरेको पीडित जुगेश्वरले बताए । अहिले तत्काल खाद्यान्न र लत्ताकपडासहितको अति अत्यावश्यक रहेकोको उनले बताए । 
शनिवार राति   सर्ट सर्किट भएर भएको आगलागीमा १० परिवारको १२ वटा घर जलेको थियो । आगलागीमा परि खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर, विद्दुतीय  सामाग्री, नगदसहित ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
आगलागीमा जागेश्वर यादव, विद्यानन्द यादव,सदानन्द यादव, रामअवतार यादव,जहरी देवी, राज कुमार यादव,जोगेन्द्र यादव, अनिल यादव, रनिया यादव र रमन यादवको घर र गोठ जलेर क्षति भएको थियो ।