• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा कृषि तथा पोषण प्रदर्शनी मेला 
न्यूज टुडे
राजविराज, २२ बैशाख ।
सप्तरीको रुपनी गाउँपालिकामा मंगलबार कृषि तथा पोषण प्रदर्शनी मेला आयोजना गरिएको छ । केयर नेपालको सहयोग र रुपनी गाउँपालिकाको सहकार्यमा राष्ट्रिय कृषक महासंघ नेपालद्वारा संचालित पोषण परियोजनाले कृषि तथा पोषण मेला प्रदर्शनी गरेको हो ।
मेलामा रुपनी गाउँपालिका अन्तर्गत विभिन्न वडाका कृषकहरुले उत्पादन गरेको कृषि उपज तथा पोषण सुरक्षाका लागि आवश्यक कृषि उत्पादनहरु, कृषि सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
पालिकामा क्रियाशिल २९ वटा महिला कृषक समुहले उत्पादन गरेको तरकारी, दलहन, अन्नसहित कृषि उपज मेलामा प्रदर्शनी गरिएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डितले बताए । 
मेलामा फर्सी,लौका,घिरौला,बोडी,भिन्टी,गोलभेडा,मुला, गाँजर,परवल,खुर्सानी,मकै,विभिन्न प्रजातिका सागपात, कुरनी,लसुन, प्याज, केरा,लिची, आँप, कागती,पिँडालु, मुसुरो,मटर, लहर दाल, चामल, गहुँ, मकै, गड्यौला मल, लगायतका कृषि उपज तथा अण्डा, स्याउ, अंगुर, आयोनुन सहितका पोषण सामाग्री प्रदर्शनीमा राखिएको उनले बताए । 
प्रदर्शनीमा सहभागी प्रथम, दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने तथा उत्कृष्ट कृषक समुहलाई पुरस्कार स्वरुप मायाको चिनो प्रदान गरिको थियो । 
प्रथम पुरस्कार ग्रहण गर्दै लालिगुराँश महिला कृषक समुहकी प्रतिनिधि । फोटो : न्यूज टुडे
उक्त प्रदर्शनी मेलामा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुख, संचारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कृषक समुहका कृषकहरुको सहभागिता थियो ।