न्यूज टुडे
राजविराज,२२ बैशाख ।
सप्तरीमा विभिन्न मुद्दाका दशजना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न मुद्दाका प्रतिवादी पक्राउ परेको जानकारी गराएको हो ।
ज्यान मार्ने उधोग,लागूऔषध,लुटपिट, सवारी ज्यान, अभद्र व्यबहार लगायतका विभिन्न मुद्दाका १० जना प्रतिवादी पक्राउ गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार लुटपिट मुद्दाका प्रतिवादी सप्तरी खडक नगरपालिका ५ का राजोदेवी कुमारी मण्डल,कारी देवी मण्डल,रामदुलार मण्डल,रिता कुमारी मण्डल,दिपेश कुमार मण्डल, सेवरी देवी मण्डल,रंजना कुमारी।मण्डल पक्राउ परेका छन् । उनीहरुलाई प्रतिव्यक्ति १ सय ९६ रुपैयाँ जरिवाना तोकिएको जनाएको छ । यसैगरी लागूऔषध मुद्दामा २ दिन कैद सजाय तोकिएका राजविराज ७ का धिरेन्द्र कुमार साह छन् ।
उनीहरुलाई कैद तथा जरीमाना भुक्तानका लागि सोमबार नै सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको डिएसपी पुरीले जानकारी दिए ।
यसैगरी सवारी अंगभंग मुद्दामा तिरहुत गाउँपालिका ५ का बर्ष २० को शिव शंकर यादव र ज्यानमार्ने उधोग मुद्दामा सुरुङ्गा नगरपालिका ९ का बर्ष ४० को काशिन्द्र साह, अभद्र व्यवहार मुद्दाका प्रतिवादी चितवन राप्ती नपा ९ बस्ने बर्ष ३० को राम बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका प्रतिवादी विरुद्ध जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रबक्ता डिएसपी पुरीले जानकारी दिए ।