अग्नीसाईर कृष्णासवन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले बाँदर आतंक नियन्त्रणका लागि योजना बनाउन आग्रह गर्दै गाउँपालिकाबाट बजेट उपलब्ध गराउने बताएकी छन् । गाउँपालिकाको सहयोग तथा सहकारी समन्वय समितिको सहकार्यमा जण्डोलमा शुक्रबार ६९ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा निकालिएको र्याली प्रदर्शन । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष चौधरीले सहकारीकर्मीहरुले उठाएको बाँदर आतंकको समस्याप्रति आफू गम्भीर भएको बताइन् । बाँदर आतंक गाउँपालिकाकै समस्याको रुपमा लिएको बताउँदै उनले नियन्त्रणमा लिने योजना बनाउन आग्रह गर्दै त्यसका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रम मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
सहकारी संस्थाहरुको व्यवस्थापन तथा विकासका लागि गाउँपालिका सधै समन्वय र सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै उनले आर्थिक रुपान्तरण र रोजगारी सिर्जनामा सहकारी संस्थाहरुले ठूलो योगदान गरेको भन्दै प्रशंसा व्यक्त गरिन ।
कार्यक्रममा सहभागी सहकारीकर्मीहरु । फोटो : न्यूज टुडे
केन्द्रीय दुग्ध संघका केन्द्रीय सदस्य दिपेन्द्र आचार्यले सहकारी संस्थाहरुको वृत्ति विकासका लागि गाउँपालिकाले आवश्यक नीति तथा बजेटको व्यवस्था नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । पूर्व सहकारी कर्मीहरुले गाउँपालिकाको नेतृत्व गर्दा समेत अपेक्षित रुपमा सहकारी संस्थाहरु बजेट तथा सेवा सुविधाबाट बन्चित हुनु दुर्भाग्य भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सहकारी संस्थाहरुको लागि बजेटको व्यवस्था गर्न आग्रह गरे ।
गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका संयोजक रामी यादवले सहकारीबाट ॠण लिएर तथा आफैले बचत गरि जम्मा गरेको रकम लगानी गरेर किसानले लगाएको बाली बाँदरले नष्ट गर्दा हैरान मात्र हुनु परेको बताए । उनले बाँदर नियन्त्रण गरि किसानहरुलाई ढुक्कसंग लगानी गरि उत्पादन गर्ने बाताबरण गाउँपालिका स्तरबाट मिलाउनु पर्नेमा जोड दिए ।
पत्रकार बृजमान तामाङले नयाँ जनादेशका साथ गठित सरकारबाट आशा र निराशा दुबै भएकोले सहकारी कर्मीहरुको एकता अझ महत्वपूर्ण बन्दै गएको बताए । उनले सरकारको राम्रो कामको समर्थन गरि सहयोग गर्नुपर्ने र सहकारी तथा जनविरोधी गतिविधि भए एकताबद्ध भएर खबरदारी गर्नुको विकल्प नभएको बताए ।
कार्यबाहक अध्यक्ष चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्नीसाइर कृष्णसवरन गाउँपालिका ४ का वडाध्य्क्ष तेज नारायण यादव, जिल्ला सहकारी संघ सप्तरीका उपाध्यक्ष भुवन आचार्य, आदर्श दुग्ध उत्पादन बचत तथा ॠण सहकारी संस्था महुलीका व्यवस्थापक बोधराज सुवेदी, लाली गुराँस बचत तथा ॠण सहकारी संस्था मोहनपुरकी अध्यक्ष कल्पना कोइराला लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका सचिव रमानन्द चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी कृषि तथा सहकारी विभाग प्रमुख चन्द्ररेखा कुमारी चौधरीले गरिन ।
उक्त अवसरमा गाउँपालिका प्राङ्गणबाट विभिन्न नारा उल्लेख गरिएको प्लेकार्ड तथा झाँकीसहित निकालिएको बृहत र्याली न्यू थारु फुडलाइनको सभाहलमा पुगेर सभा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका सहकारी समन्वय समितिमा आबद्ध १७ बटा सहकारी संस्थाका संचालक समितिका पदाधिकारी,,कर्मचारी, शेयर सदस्यहरु,गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरु लगायतका सहकारीकर्मीहरुको सहभागीता रहेको थियो ।