बिमा गराएमा स्वास्थ्योपचारमा सहुलियत पाउने भएपछि स्वास्थ्य बिमा प्रति धेरैको आकर्षण बढ्दै गएको थियो ।
महँगो उपचार गराउन नसक्नेहरुका लागि यो व्यवस्था अझै उपयोगी रहने अपेक्षा गरिँदै आएको पनि हो । तर केही समय यता कतिपय अस्पतालले बिमा गरेर उपचारका लागि आएका बिरामीहरुको उपचारमा आनाकानी गर्ने गरेको लगायतका विभिन्न गुनासाहरु बढ्न थालेका छन् । स्वास्थ्य बिमा सेवामा आनाकानी गर्दै बिरामीलाई आवश्यक सुविधा नदिएका समाचारहरु आउन थालेपछि बिमा प्रतिको आकर्षण घट्ने पो हो कि भन्न आशंका बढेर जानु स्वाभाविकै हो । केही स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई सेवा प्रवाह नगरी दुःख दिने गरेको सम्मका गुनासाहरु उठ्न थालेका छन् । यसैगरी केहीले बिमितलाई उपचार भन्दा पनि भेदभावपूर्ण व्यवहार गरेको सुनिन थालेको छ । जनतालाई बिमाको माध्यमले उपचारका लागि सहजता होस् भन्ने सोचका साथ सरकारले स्वासथ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो । राज्यले अबलम्बन गरेको नीति विपरित उपचारका लागि आएका सेवाग्राहीलाई दुःख दिने भेदभावपूर्ण व्यवहार र सेवा प्रवाहमा आनाकानी गरिनुलाई कुनै पनि हिसाबले जायज भन्न सकिन्न । सकेसम्म राम्रो सेवा प्रवाह गरी सेवाग्राहीहरुलाई सन्तुष्ट तुल्याउन सकियो भने मात्र यस्ता कार्यक्रमको लोकप्रियता अझै बढेर जाने हुन्छ ।
उपचारमा सहुलियतका लागि जनताले स्वास्थ्य बिमा गर्ने अनि उपचारका लागि जाँदा चाहीँ आलटाल र भेदभाव गरिन्छ भने यस्तो व्यवहारले जनविश्वास आर्जन गर्न सक्दैन । यसलाई सच्याउनै पर्ने हुन्छ ।