न्यूज टुडे
राजविराज,१५ चैत ।
नेपाल पत्रकार महासंघ सप्तरीले सदस्यता माग गर्दै स्थानीय संचारकर्मीहरुले थालेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका सह सचिब डम्बर राईले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।
पत्रकारिता गर्ने हरेक व्यक्तिले महासंघको सदस्यता पाउनु पर्ने उल्लेख गर्दै महासंघद्वारा जारी विज्ञप्तिमा नयाँ सदस्यको प्रक्रिया चाँडै अगाडि बढाउने भएकोले आन्दोलनमा नलाग्न आग्रह गरिएको छ ।
‘नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको हकहित र अधिकारका लागि लड्दै आएको संस्था हो। पत्रकारिता गर्ने हरेक व्यक्तिको यो संस्था हो।’ सह सचिब राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो संस्थाको सदस्यता माग गर्दै केही साथीले थालेको आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी पत्रकारिता गर्ने हरेक पत्रकारलाई सदस्यता दिन उद्दार छौ ।’
“प्रक्रिया पुर्याएर पत्रकारिता कर्ममा लागिरहनु हुनेलाई सदस्यता प्रदान गर्नका निम्ति हामी चाँडै प्रक्रियामा जाने जानकारी गराउँदछौ ” विज्ञप्तिमा भनिएको छ ।
सदस्यताकै लागि आन्दोलनमा नलाग्न आग्रह गर्दै विज्ञप्तिमा अनुशासनमा रही आचारसंहिता पालना गर्दै पत्रकारितामा लागिरहन आन्दोलनमा सहभागीहरुलाई अपिल गरिएको छ ।
सदस्यता माग गर्दै स्थानीय संचारकर्मीहरुले पत्रकार महासंघ सप्तरी शाखा कार्यालय अगाडि धर्ना सहितको दवाव मुलक आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ ।