न्यूज रुडे
राजबिराज,१५ चैत ।
सप्तरीमा आइतबार ११औँ दिनाभद्री जन्मोत्सव विविध कार्यक्रमसहित मनाइएको छ । नेपाल राष्ट्रिय मुसहर संघ, जिल्ला समिति सप्तरीले कार्यक्रम आयोजना गरेको हो ।
उक्त अवसरमा मुसहर समुदायमाथि हुने विभेद अन्त्य गर्नुपर्ने माग गर्दै राजबिराजमा बृहत् र्याली प्रदर्शन गरिएको छ। मुसहर समुदाय अझै पनि आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक रूपमा पछाडि परेको भन्दै प्रदर्शनमा सहभागीहरूले राज्यको ध्यानाकर्षण गराएका छन् । गरिबी, अशिक्षा, भूमिहीनता तथा अवसरको अभावका कारण मुसहर समुदाय समस्यामा परिरहेको उनीहरुले बताए ।
उनीहरुले निःशुल्क तथा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सुनिश्चितता, सुरक्षित आवास व्यवस्था तथा सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरे । स्वास्थ्य सेवा तथा बीमाको पहुँच विस्तार र मुसहर आयोग गठन गर्नुपर्ने माग गरे ।
,वैदेशिक रोजगारी प्रक्रियालाई सरल, सुलभ र पारदर्शी बनाउनुपर्ने, सीपमूलक तालिमको पहुँच बढाउनुपर्ने, नागरिकता सम्बन्धी समस्या समाधान गर्नुपर्ने तथा प्राविधिक शिक्षामा समान अवसर सुनिश्चित गर्नुपर्ने उनीहरुको भनाइ छ ।
र्यालीमा सहभागीहरुले बेरोजगार युवालाई भत्ता वा रोजगारीको व्यवस्था गर्नुपर्ने, ५० वर्षमाथिका मुसहर नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्ने तथा दिनाभद्री मन्दिरलगायत धार्मिक स्थलहरूको संरक्षण र विकास गर्नुपर्नेमा जोड दिए। उनीहरुले आफ्ना मागहरू सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।